काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थापिका–संसदमा संविधान संशोधनसम्बन्धी मस्यौदा दर्ता भएसँगै देश अब निर्वाचनतर्फ अघि बढ्ने बताए ।

dsc0231-848x478प्रधानमन्त्री निवास बालुवाटारमा आज अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री दाहालले देश निर्वाचनतर्फ अघि बढेको बताए ।
“हिमाल, पहाड र तराईबीच सुदृढ एकता सरकारको प्राथमिकता हो । अहिले दर्ता भएको संशोधन प्रस्तावले राष्ट्रिय एकताको प्रतिनिधित्व गरेको छ । हामीले राष्ट्रको अहित हुने कुरा कल्पना पनि गर्न सक्दैनौँ,” प्रधानमन्त्रीले भनेका छन्।

प्रधानमन्त्री दाहालले संविधान संशोधन प्रस्तावको विरोध गर्नु राष्ट्रिय एकताविरोधी कुरा भएको उल्लेख गर्दै संशोधन प्रस्ताव दर्ता भएपछि पनि सहमतिको प्रयास जारी राख्ने बताए ।

“प्रमुख प्रतिपक्षी नेकपाएमाले पनि संशोधनको पक्षमा आउँछ, त्यसका लागि सरकारले सहमतिको प्रयास जारी राख्छ”, प्रधानमन्त्रीले भनेका छन् । सङ्घका अध्यक्ष अमृता थापामगरको नेतृत्वमा गएको महिला नेत्रीको टोलीले संवैधानिक प्रावधानबमोजिम राज्यका निकायमा महिलाको उचित प्रतिनिधित्वका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।