रोल्पा, १५ मंसिर । रोल्पालगायत पहाडी जिल्लाहरूलाई ५ नम्बर प्रदेशबाट अलग्याउन लागेको विरोध गर्दै आज रोल्पा बन्द गरिएको छ ।

map-of-rolpa-district-1-13सरकारले पहाडी जिल्ला ५ नम्बर प्रदेशबाट हटाउने गरी संविधान संशोधन प्रस्ताव दर्ता गर्न लागेको विरोधमा आन्दोलित बनेका रोल्पालीहरूले जिल्ला बन्द गरेका हुन् । बन्दका कारण बजार, कलकारखाना तथा यातायातका साधनहरू ठप्प छन् । जिल्लाको सर्वदलीय÷सर्वपक्षीय सङ्घर्ष समितिले साताव्यापी रूपमा आह्वान गरेको सङ्घर्षका कार्यक्रमअन्तर्गत सोमवार आधा दिन जिल्ला बन्द गरिएको थियो ।

सङ्घर्ष समितिले अहिलेसम्म विरोध र्‍याली, प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउने, चक्काजाम गर्ने, बजार कलकारखाना बन्द गर्ने, यातायात बन्दलगायत सङ्घर्षका कार्यक्रम गरिसकेको छ । यसैबीच, केही दिनदेखि आन्दोलित रोल्पा र प्यूठानीहरूले अबदेखि संयुक्त रूपमा आन्दोलन गर्ने भएका छन् ।

सोमवार प्यूठानको भिङ्ग्रीमा बसेको रोल्पा र प्यूठानका सङ्घर्ष समितिको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । केही दिनदेखि छुट्टाछुट्टै आन्दोलन गर्दै आएका रोल्पा र प्यूठानीहरूले आफूहरूको आन्दोलनप्रति सरकार संवेदनशील नदेखिएकोले संयुक्त रुपमा आन्दोलन चर्काउने निर्णय गरेका हुन् ।

प्यूठानका पूर्वसांसद् मुक्तिप्रसाद शर्माको संयोजकत्वमा गठित २ जिल्लाको सङ्घर्ष समितिले आगामी १६ गते रोल्पा र प्यूठानको सिमानामा पर्ने चतुर्भुजमा संयुक्त सभाको आयोजना गरी आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएको छ ।