tarigaun-bimanभरतराज शर्मा / तुललसीपुर १५ मंसिर ।  लामो वन्दका वावजुद तुलसीपुर उद्योग वाणिज्य संघको प्रयासमा सञ्चालनमा आएको तुलसीपुरको हवाई सेवा विगत नौं महिना देखि ठप्प छ । हवाई सेवा वन्द हुँदा जटिल प्रकृतिका विरामिहरु र अतिआवश्यक कामका लागि छिटो यात्रा गर्न चाहानेहरु मर्काका परेका छन् । विशिष्ट व्यक्तिहरु देखि सरकारका मन्त्री र राजनीतिक दलका नेताहरु समेत दाङ आउन आनाकानी गर्ने गरेका छन् । साझै प्लेनवाट दाङ आउने सुविधा नहुनु अनि भैरहवा र नेपालगञ्ज भएर दाङ आउनुपर्ने बाध्यता रहेकोले धेरै विशिष्ट व्यक्तिहरु यहाँ आउन असहज हुने गरेको बताउँछन् । उनीहरुले प्लेनवाट सोझै काठमान्डौं दाङ र दाङ काठमान्डौं यात्रा गर्न पाएमा मात्रै दाङको विकास संभव हुने बताउँछन् ।

 तर, जिल्लामा आउने प्राय सबै दलका सबै नेताहरुलाई उद्योग वाणिज्य संघले एयरपोर्टको अवस्था वारे अवगत गराउँदै आएको छ । अधिकाँसलाई त अझ एयरपोर्ट मै लगेर कार्यक्रमहरु समेत गरिएका छन् । एयरपोर्टको स्थलगत अनुगमन गर्ने र तुरुन्तै टरिगाँउ एयरपोर्टमा विमान सञ्चालगर्न भूमिका निर्वाह गर्छौं भनेर आश्वासन र भाषणगर्ने नेताहरु गनेर साध्य छैन । हरेक दलका शिर्ष नेताहरुले यहाँ आएको समयमा त्यस्तो आश्वासन दिएका छन् । त्यसमध्येका एकजना हालका कार्यकारी प्रभानमन्त्री पुष्पकमल दाहाल पनि हुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष रहेका उनले त्यस्तो आश्वासन दिएको पनि महिनौं पुग्यो तर, उनका कुरा गफ मात्रै सावित भएका छन् ।

नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा देखि नेकपा एमालेका वरिष्ठ नेताहरु धेरैले भाषणममा  मात्रै त्यस्तो आश्वासनको  मिठो झोल पिलाएर गएका थिए । तर, उनीहरुले गरेका कुरा सबै बतासे सावित भए । कारण, २०७२ चैत २ गते देखि टरिगाँउ एयरपोर्टमा विमान सेवा अवरुद्ध रहँदै आएको छ ।  उद्योग वाणिज्य संघ तुलसीपुर र यहाँ क्रियासिल विभिन्न राजनीतिक दलका नेतृत्वको प्रयासमा २०७२ जेठ देखि हप्ताको दुई दिन काठमाण्डौ–सुर्खेत हुँदै दाङ हुँदै पुनह काठमाण्डौको उडान भरिरहेको गोमा एयरले चैत २ गतेपछि उडान भर्न स्थगित गरेको हो । तत्कालिन समयमा नेपालमा भएका विमान दुर्घटनालाई कारण देखाउँदै सरकारले सिंगल इञ्जिन भएका विमान सञ्चालनमा प्रतिवन्ध लगायको थियो ।

त्यसपछि हिमाली र पहाडी जिल्लामा डवल इञ्जिनका प्लेनहरुले मुनाफा धेरै देखेर सुगम जिल्लाको उडान कटौति गरेका थिए । विमान अभावले गर्दा नै टरिगाँउ एयरपोर्टमा नौं महिना देखि विमान सेवा ठप्प बन्न पुगेको बताईएपनि त्यो मात्रै कारण हैन भन्ने तर्क पनि हुँदै आएको छ । गोमा एयरले यात्रु अभावलाई कारण देखाउँदै उडान रोक्नु परेको जानकारी दिएको छ । तर, उद्योग वाणिज्य संघ तुलसीपुरका अध्यक्ष विमल रिजाल भने यात्रु अभाव भयो भन्नु गलत भएको बताउँछन् । २०१२ सालदेखि टरिगाँउ एयरपोर्टमा विमानसेवा सुरु भएको थियो । लामो इतिहास बोकेको टरिगाँउ एयरपोर्टको भविस्य अन्यौंलमा पर्नुको प्रमुख कारण राज्यको नजर नपुग्नु नै हो ।

दाङवाट प्रतिनिधित्व गर्ने मन्त्री र नेताहरुले दबाव सृजनागर्न नसक्नुलाई नै मान्ने गरिन्छ । कुनै सयम निरन्तर ३० वर्ष भन्दा बढी समय निरन्तर विमान उडान भएको टरिगाँउ एयरपोर्ट पछिल्लो केही वर्ष यता भने केही समय सञचालनमा आउने र फेरि बन्द हुने गरेकोले यसप्रति यात्रुको भरोसा नै टुटेको देखिन्छ । पछिल्लो समय विमानको धावन मार्ग कालोपत्रे गरिएको छ । तरपनि विमान सेवा नियमित हुन सकेको छैन । उद्योग वाणिज्य संघले यात्रुको जिम्मा लिएर विमान सञ्चालन गरेको थियो । जतिबेला भाडा दर ८ हजार ९सय थियो ।

पछि वाणिज्य संघकै पहल प्रयासमा घटेर ७ हजार ५सयमा कायम गरिएको थियो । तुलसीपुर उद्योग वाणिज्य संघका  अध्यक्ष विमल रिजालले भाडा समायोजन पछि विमान सञ्चालक कम्पनीले सेवा सञ्चालनमा आनाकानी गर्दै सेवा रोकेको बताए ।  अवरुद्ध हवाई सेवा सञ्चालन गर्नका लागि पहल र प्रयास भइरहेका छन् । नौ महिनाको अवधिमा उद्योगा वाणिज्य संघका पदाधिकारीहरुले दर्जनौ मन्त्री र दलका नेताहरुलाई भेटेर नियमित विमान सेवा सञ्चालनका लागि आग्रह गर्दै आएका छन् । तरपनि त्यसले सार्थकता पाउन नसकेको संघका अध्यक्ष रिजालले बताए । उनले संघको प्रयासमा मात्रै विमान सञ्चालनगर्ने प्रयास सफल हुन नसकेकोले राजनीतिक नेतृत्वले समेत त्यसमा पहल गर्नु आवश्यक रहेको बताए ।

मंसिरको पहिलो साता मै राजधानी पुगेको उद्योग वाणिज्य संघको प्रतिनिधि मण्डलले एकहप्ता कुर्दा समेत पर्यटनमन्त्री संग भेटने समय नपाएपछि निरास भएर फर्किनु परेको अध्यक्ष रिजालले बताए ।  अर्थमन्त्री र पर्यटन मन्त्रि संग भेटगरी तुलसीपुरमा नेपाल एयर लाईन्सवाट हावाई सेवा सुरु गराउन माग राख्ने उदेश्य राखि  प्रतिनिधि मण्डल राजधानी पुगेको थियो । अर्थमन्त्री संग तुलसीपुरको हवाई सेवा सञ्चालनका लागि माग राखेपनि सांस्कृति पर्यटन तथा नागरीक उडयान मन्त्री जिवनवहादुर शाहीसंग भेट हुन नसक्दा प्रयास सार्थक हुन नसकेको संघका अध्यक्ष रिजालले वताए ।

यद्यपी दाङमा हवाई सेवा सञ्चालनका लागि अर्थमन्त्री कृष्णवहादुर महरा ,सिंचाई मन्त्रि दिपक गिरी निकै सकारात्मक रहेको पनि संघले जनाएको छ । सिंचाई मन्त्री गिरीले पर्यटन मन्त्री शाहीलाई फोन गरि दाङको हवाई सेवा सुचारुका वारेमा तत्काल पहल गर्न अनुरोध समेत गरेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रिजालले बताए । नेपाल एयरलाईन्सले दाङमा हवाई सेवा सञ्चालन गरेमा  अहिलेपनि उद्योग वाणिज्य संघले यात्रु व्यवस्थापनको जिम्मा लिने संघले जनाएको छ ।  राप्ती समाचार