पर्वत, १३ मंसिर । पर्वतको मोदीखोलामा अग्लो र लामो झोलुङ्गे पुल निर्माण भएको छ । पर्वत सदरमुकाम कुश्मालाई फलेबास क्षेत्रसँग जोड्न मोदीखोलामा १ सय ५८ दशमलव ७० मिटर अग्लो र ३ सय ५९ मिटर लामो कुश्मा(मुडिकुवा झोलुङ्गेपुलको निर्माण भएको हो ।

bridge1पुलको निर्माण सकिएकाले बाला चतुर्दशीको अवसर पारेर आजदेखि पुल औपचारीका रुपमा सञ्चालन गरिएको छ । कुश्मा–मुडिकुवा झोलुङ्गेपुल निर्माण उपभोक्ता समितिले पुलको ९९ प्रतिशत निर्माण कार्य सम्पन्न भएपछि ओहोरदोहोरका लागि खुला गरिएको जानकारी दिएको छ ।

आइतबार बेलुकासम्म तारबार लगाउने काम सकिएको छ । अब पुल राम्रो बनाउने काम मात्रै बाँकी रहेकाले यात्रु र पर्यटकका लागि कुनै जोखिम नहुने निर्माण समितिका अध्यक्ष बालकृष्ण तिवारीले जानकारी दिए ।

पुल कुल एक करोड ७६ लाखको लागतमा निर्माण भएको हो । बागलुङ्गको बलेवा क्षेत्र जोड्नलाई बनेको मुलुककै सबैभन्दा अग्लो कुश्मा–कैया झोलुङ्गे पुलबाट जम्मा १ सय मिटर नजिकै यो पुलको निर्माण भएकाले थप पर्यटक भित्र्याउन सहयोग हुने अपेक्षा गरिएको छ । कुश्मा–कैया झोलुङ्गे पुल १ सय ५९ मिटर अग्लो र ३ सय ४७ मिटर लामो छ ।