धुलिखेल, १३ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समृद्धिका लागि स्थिर राजनीतिक सरकार आवश्यक रहेको बताएका छन् ।

dsc0131-848x478धुलिखेलमा आज काठमाडौं विश्वविद्यालयको २२ औँ दीक्षान्त समारोहमा उनले आफू नेपाली राजनीतिको भूकम्पको केन्द्रविन्दुमा भएको बताए । नेपाली समाजमा अहिले पनि शिक्षित, सभ्य र योग्य व्यक्तिको अभाव भएको भन्दै दाहालले समाजको निम्ति उपयोगी काम गर्न महत्वकाङ्क्षी योजना लिएर अघि बढ्न विद्यार्थीलाई आग्रह गरेका छन् ।

काठमाडौँ विश्वविद्यालयका कुलपति समेत रहेका दाहालले दीक्षितबाट सरकारले ठूलो अपेक्षा गरेको उल्लेख गर्दै विद्यार्थीको जीवनको नयाँ अध्याय सुरु भएको बताए । भारतको सेन्टर फर पोलिसी रिसर्चका प्रेसिडेन्ट तथा प्रमुख कार्यकारी प्रा।डा प्रताप भानु मेहताले मौलिक अधिकार उपयोगको चुनौती देखिन लागेको बताए ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति डा।रामकण्ठ मकाजु श्रेष्ठले निश्चित योजना बनाएर आफ्ना विशेषताको उपयोग गर्न विद्यार्थीलाई सुझाव दिए । काठमाडौँ विश्वविद्यालयमा स्कुल अफ साइन्सका २४९ जना, स्कुल अफ इन्जिनियरिङका २८२, स्कुल अफ म्यानेजमेन्टका ४६४, स्कुल अफ एजुकेसनका १०३ र स्कुल अफ आर्टस्का १८७ गरी जम्मा कुल एक हजार २८५ जना स्नातक दीक्षित भएका छन् । उनीहरूमध्ये अमेरिकाका तीन, भुटानका एक, चीनका दुई, भारतका ११, बङ्गलादेशका तीन, पाकिस्तानका तीन र जर्मनीका दुई गरी सात देशका २५ जना रहेका छन् ।