काठमाडौं, १३ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनका लागि सरकारलाई दिएको १५ दिने अल्टिमेटम आज सकिँदै छ । मोर्चाले गत कात्तिक २९ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भेटेर २६ बुँदे माग सम्बोधन हुने गरी संविधान संसोधनको प्रस्ताव संसदमा दर्ता गर्न समयसीमा सहितको अल्टिमेटम दिएको हो ।

morchaप्रधानमन्त्री दाहालले यसअघि पटक पटक संशोधन गर्न तोकेको समयमा प्रस्ताव दर्ता नगराएको भन्दै मार्चाले समयसीमा तोकेरै सरकारको ध्यानाकर्षण गराएको थियो । आफूहरुले दिएको समयसीमा सरकारले संविधान संशोधन प्रस्ताव दर्ता नगराए कडा आन्दोलनमा जाने चेतावनी समेत मोर्चाले दिइसकेको छ । मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले सरकारलाई दिएको अल्टिमेटम आज सकिने बताउँदै आजसम्ममा पनि संशोधनको प्रस्ताव पेश नभए मोर्चाले आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए ।

सरकारले भने राजनीतिक सहमति नजुटेसम्म तथा निर्वाचनमा मधेसी मोर्चाले भाग लिने विषयमा प्रतिबद्धता नआएसम्म संशोधन प्रस्ताव दर्ता नगर्ने बताएको छ । संशाधोन प्रस्ताव पारित नहुने अवस्थामा दर्ताको मात्र औचित्य नभएको भन्दै थप छलफल गरी प्रस्ताव दर्ताको तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल जुटेका छन् ।