दिपक बोहरा , तुलसीपुर १० मंसिर । जिल्ला जनस्वास्थ्य कार्यालय दाङ कार्यसम्पादनमा खस्किएको छ । जनश्वास्थ्य कार्यालय दाङ आर्थिक बर्ष २०७१÷०७२ मा मध्यपश्चिमको एक नंम्वर र देश भरकै पाँच नम्वरमा पर्न सफल भएको थियो । तर, २०७२/०७३को कार्यसम्पादनमा जनस्वास्थ्य कर्यालय दाङ खस्किएर मध्य पश्चिममा आठौं नम्वर र देशभरको २९औं नम्वरमा परेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका जनस्वास्थ्य प्रमुख घनश्याम पाख्रेलले आर्थिक बर्ष २०७२/०७३ को कार्यसम्पादनका आधारमा जनस्वास्थ्य कार्यालय दाङ मध्यपश्चिमको आठौं नम्वरमा र देशभरको २९औं नम्वरमा परेको जानकारी दिए ।
जनस्वास्थ्य प्रमुख पोख्रेलका अनुसार रेकर्डिङ र रिपोर्टिङ तथा अभिलेख र प्रतिबेदन ब्यबस्थित गर्न ध्यान नपुर्याउँदा कार्यसम्पादनमा खस्किएको बताए । उनले कमजोरी स्वीकार गर्दै यस्लाई सुधार गर्दै लैजाने प्रतिवद्धता पनि जनाएका थिए ।
उनले भने ‘ हामी केही मात्रामा खस्केकै हांै, तर, त्यति धेरै तल भने परेका छैनौ, हामी फेरि पूर्ववत अवस्थामै फर्काउने गरि मेहनत गर्ने छौं।’ उनले देशभरको २९औं नम्वरमा पर्न सक्नु पनि कार्यसम्पादनमा प्रगति भएको मान्न सकिने उनले दाबी गरे ।
जनस्वास्थ्य कार्यालयले सञ्चालन गरेका कार्यक्रम कार्यान्वयन, बजेट खर्च, गतिबिधी केन्द्रमा रिपोर्टिङ, कर्मचारीको उपस्थिती, कार्यक्रमको प्रगतिलाई मूल्याङकन गर्दा क्षेत्रमा ८औं र नेपालको २९ औं स्थानमा परेको जनस्वास्थ्य प्रमुख पोख्रेलले बताए ।
राजधानीमा भएको आर्थिक वर्ष २०७२÷०७३ को राष्ट्रिय समिक्षा गोष्ठिमा उत्कृष्टताका आधारमा जिल्लाको नाम सार्बजनीक गरिएको हो । स्वास्थ्य मन्त्रालयले हरेक बर्ष ११ सुचक ब्यबस्थापन र २४ सुचक सेवासम्बन्धिको कार्यसम्पादनलाई मुल्याङ्कन गरी बर्गिकरण गर्नेगर्छ ।
मन्त्रालयले उत्कृष्टताका आधारमा एक देखि ७५ वटै जिल्लाका नाम सार्वजनिक गरेको छ । जसमा राप्तीको प्युठान उत्कृष्ठ दश स्थानमा पर्न सफल भएको छ । ८६.१८ प्रतिसत नम्वर पाएर जनस्वास्थ्य कार्यालय प्युठान देशभरकै उत्कृष्ठ दश स्थानमा पर्न सफल भएको हो ।
त्यस्तै मध्यपश्चि अन्तरगतको सुर्खैत देशभरकै दोस्रो र दैलेख उत्कृष्ठ ७औं स्थानमा पर्न सफल भएको छ । सुर्खेतले जिल्लाले ९०.५४ प्रतिसत नंम्वर पाएर दोस्रो नम्वरमा पर्न सफल भएको छ । त्यस्तै दैलेखले ८९.०९ प्रतिसत नम्वर ल्याएर ७औ स्थानमा पर्न सफल भएको छ ।
त्यस्तै मध्यपश्चिमकै डोल्पा कार्यसम्पादनमा अन्तिम दश स्थानमा परेको छ । डोल्पाले ७१.१२ प्रतिसत नम्वर मात्रै प्राप्त गरेको छ । उ अन्तिमको ६६ स्थानमा परेको छ ।
सार्वजनिक गरिएका जिल्लाहरु मध्ये यस वर्ष कार्यसम्पादन मूल्यांकनका आधारमा अछाम जिल्ला उत्कृष्ट जिल्ला घोषित गरिएको छ । अछामले कार्यसम्पादन मुल्याङनमा सर्वाधिक ९२ . ३७ प्रतिशत नम्बर प्राप्त गरेको छ । गत वर्ष अछाम दोस्रो नम्बरमा थियो ।
कार्यसम्पादन मूल्याङ्कनको क्रममा सबैभन्दा कमजोर मनाङ जिल्ला देखिएको छ । मनाङले ५७ . ६५ प्रतिशत मात्रै नम्बर ल्याएर अन्तिममा पुगेको छ ।





