पाल्पा, ९ मंसिर । चार वर्षअघि अन्तर्जातीय प्रेम विवाह गरेकी बिनु पुलामी मगर पाल्पा हुँगीको असर्दीघाटमा मृत अवस्थामा फेला परेकी छन् ।
पाल्पाको हेक्लाङ गाविस–६ की पुलामीको ताहुँ गाविस–७ का २५ वर्षीय दीपेन्द्र बस्यालसँग २०६९ सालमा अन्तर्जातीय प्रेम विवाह भएको थियो । परिवारले भने उनीहरुको विवाहलाई अस्वीकार गर्दै आएको स्थानीयले बताएका छन् ।
चार वर्षअघि प्रेम विवाह गरेकी बिनु दशैंअघिदेखि बेपत्ता भएकी थिइन् । बिनुका बुबा नरेन्द्र पुलामीले छोरी बेपता भएपछि खोज्न आग्रह गरे पनि घरपरिवारबाट बेवास्ता गर्नुका साथै धम्की समेत आएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।
२४ वर्षीया बिनु दशैंँदेखि बेपत्ता हुँदासमेत श्रीमान् र घरपरिवारले बेवास्ता गरेको माइती पक्षको आरोप लगाएका थिए । बिनुका श्रीमान दीपेन्द्र पाल्पाका जिल्ला शिक्षा कार्यालयका ओभरसियर हुन् । बीएससी अध्ययरत बिनुलाइ मगर जातिकी भएकै कारणले दीपेन्द्रका घर परिवारले स्वीकारेका थिएनन् ।
सडेको अवस्थामा भेटिएको शव बिनुको भएको उनको माइती पक्षले पुष्टी गरेको छ । बिनु बेपत्ता हुँदा समेत खोजी नगरेको भन्दै श्रीमानले नै हत्या गरेको माइती पक्षले आरोप लगाएका छन् । दीपेन्द्र पनि दुई दिनदेखि फरार रहेका छन् ।
