काठमाडौ १० मंसिर । आज महिला हिंसाविरुद्धको दिवस विभिन्न जनचेतना मुलक कार्यक्रम गरी मनाइदैँ छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको दिवसकारुपमा मनाउने निर्णय गरेको हो ।
सोहि अनुरुप हरेक वर्षको नोभेम्बर महिनाको २५ मा महिला विरुद्धको हिंसाका विरुद्ध समग्र विश्व समूदाय भेला भएर एैक्यवद्धता जनाउने गरीन्छ । यसैबिच ‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्किक हिंसारहित समाज’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान–२०१६ पनि आजदेखि सुरु हँदैछ ।
प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने सो दिवसका अवसरमा महिला, बालिबालिका तथा समाजकल्याण मन्त्रालय सहित विभिन्न गैरसरकारी संस्थाको उपस्थितिमा विभिन्न कार्यक्रम गरीने छ । नेपाल प्रहरी महिला बालबालिका निर्देशनालयका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा दुई हजार २ सय ८८ वटा घरेलु हिंसाका घटना भएका छन् भने महिला हिंसाका ६सय ६० वटा घटना भएको जनाएको छ ।
यस अवधिमा जबरजस्ती करणीका २ सय ९३ घटना भएका छन् भने जबरजस्ती करणी उद्योगका १५२ वटा घटना भएको निर्देशनालयले जनाएको छ । त्यस्तै सो अवधिमा १सय १५ वटा बहुविवाह घटना दर्ता भएका छन् भने अन्य बोक्सीको आरोप, गर्भपतन, मानवबेचविखनका घटना भएका छन् । यस्तै आर्थिक वर्ष २०७२र ७३ मा नौ हजार ३९८ वटा घरेलु हिंसाका घटना भएका थिए भने दुई हजार ७५ वटा महिला हिंसाका घटना भएको पाइएको छ ।
