विराटनगर, ९ मंसिर । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख तीन दलको सहमतिमा संविधान संशोधनको प्रस्ताव आउनुपर्ने बताएका छन् ।

bijayaविराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले भन्नुभयो – अहिले आउन लागेको संविधान संशोधनको प्रस्तावका विषयमा विरोधाभाष देखिएकाले प्रमुख तीन दलको सहमतिमा संशोधनको प्रस्ताव आउनुपर्ने बताए ।

अध्यक्ष गच्छदारले “मधेसी मोर्चाका नेताहरुकै फरक फरक धारणा, एमालेको पूर्ण असहमति र आफ्नो दलसँग पनि कुनै छलफल नगरेको अवस्थामा संविधान संशोधनको प्रस्तावमा विरोधाभाष देखिएको हो” भनेका छन् ।

प्रमुख तीन दलका ठूला नेताबीच सहमति गरेर संशोधनको प्रस्ताव ल्याउनुपर्ने, त्यसो नगरिएको अवस्थामा समस्या समाधान नहुने चर्चा गर्दै उहाँले संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता भएपछि आफ्नो पार्टीको आधिकारिक धारणा आउने बताए ।

अध्यक्ष गच्छदारले ठूला दलका नेताहरु आफ्नै निर्णयमा टिक्न नसक्ने प्रसङ्ग उल्लेख गर्दै “आफैँ जिल्ला टुक्र्याउने, अब जिल्ला टुक्र्याउन नदिने, कहिले आठ प्रदेशमा सहमति गर्ने अनि सात प्रदेश बनाउने, ‘कहिले पुरानै संरचना ठीक, कहिले बेठीक’, ‘कहिले आयोगलाई मान्ने, कहिले नमान्ने’ जस्ता विरोधाभाष अभिव्यक्तिका कारण समस्या सिर्जना भएको हो भनेका छन् ।”