इन्द्रेणी संवाददाता
जाजरकोट, ९ मंसिर । जिल्ला शिक्षा कार्यालय जाजरकोटले पहिलोपटक १३ ओटा नमूना विद्यालय भौतिक पूर्वाधार निर्माण गरेको छ । कार्यालयले विद्यालय भौतिक निर्माण कार्यक्रमतर्फ ४३ ओटा विद्यालयमध्ये १३ ओटा नमूना विद्यालय भवन निर्माण गरेको हो । आर्थिक २०७२/७३ मा स्वीकृत ४३ ओटा विद्यालय भवन निर्माणमध्ये हाल १३ ओटा सम्पन्न गरिसकिएको कार्यालयले बताएको छ ।
कार्यालयका अनुसार नमूना विद्यालय भौतिक निर्माण कार्यक्रमतर्फ खगेनकोटस्थित सरस्वती प्रावि बफेलगाउँको दुईकोठे, रामचन्द्र प्रावि पाँचकाटियाको तीनकोठे, रामजानकी प्रावि इउरीको तीनकोठे, दुर्गा प्रावि भुर नुवागाउँको दुईकोठे भवनका साथै विश्व प्रावि वराहचौर, मालिका प्रावि विष्टटोल मजकोट र मस्टा प्रावि गिमामा छात्रा शौचालय निर्माण गरिएको छ । त्यस्तै, नेरा मावि भगवती अवलगुर्ता र दीपेन्द्र मावि भुरको ६/६ कोठे भवनको निर्माण कार्य अघि बढाइएको छ ।
चालू आर्थिक वर्षमा शिक्षा कार्यालयले विद्यालय भौतिक सुविधा विस्तार कार्यक्रमअन्र्तगत २ सय ६२ ओटा संरचना निर्माणका लागि १३ करोड खर्चिने भएको छ । कार्यालयले आठकोठे भवनका लागि चारओटा विद्यालयलाई ६० लाख, ६ कोठे भवनका लागि ४८ लाख र चारकोठे भवनका लागि सातओटा विद्यालयलाई ३२ लाख रुपैयाँ वितरण गर्न लागेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले जानकारी दिए । तीनकोठे भवन निर्माणका लागि १८ ओटा विद्यालयलाई १८ लाख र दुईकोठे भवनका १० ओटा विद्यालयलाई १३ लाख रुपैयाँ वितरण गरिएको उनले बताए ।
