काठमाडौं, ९ मंसिर । प्रधानसेनापति राजेन्द्र क्षत्रीले मधेसकेन्द्रित दलको संविधानप्रति असन्तुष्टिका कारण मुलुकको परिस्थिति जतिबेला पनि बदलिन सक्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
जंगी अड्डामा मंगलबार र बुधबार चलेको पृतनापति समन्वयात्मक बैठकमा भएको विद्यमान परिस्थितिको मूल्यांकनपछि उनले आउन सक्ने जस्तासुकै चुनौतीको सामना गर्न सक्ने गरी अपरेसनल, तालिम तथा बन्दोबस्ती तयारी अवस्थामा राख्न निर्देशन दिएका हुन् । बैठकमा प्रधानसेनापति क्षत्रीले परिस्थिति जतिबेला पनि बदलिन सक्ने भएकाले मुलुकको हितलाई ध्यानमा राखेर तालिम तथा बन्दोबस्तीको तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिएका थिए ।
प्रधानसेनापति क्षत्रीले विभागीय प्रमुखहरू तथा पृतनापतिहरूलाई संस्थागत जिम्मेवारी तथा कार्यहरूको अलावा अपरेसनल रेडिनेस तथा सांगठनिक सुदृढीकरणका क्षेत्रहरूमा विशेष ध्यान केन्द्रित गर्न निर्देशन दिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
बैठकमा पृतनापतिहरूले दिएको सुझावका आधारमा प्रधानसेनापति क्षत्रीले तराईका विभिन्न जिल्लामा भइरहेको आन्दोलन र तराईकेन्द्रित राजनीतिक दलका नेताहरूले दिएको अभिव्यक्तिहरू समेतलाई ध्यान दिएर सैन्य संरचना तथा अपरेसनल अवस्था चुस्तदुरुस्त राख्न निर्देशन दिएका हुन् ।
