काठमाडौं, ९ मंसिर । विभिन्न अपराधमा संलग्न भएको भन्दै गृह मन्त्रालयले १६ महिनाको अवधिमा ३ सय विदेशी नागरिकलाई नेपाल फिर्ता हुन नपाउने गरी देश–निकाला गरेको छ ।

sh10-8-1लागूऔषध कारोबार, जाली नोट तस्करी, चोरी डकैती, मानव ओसारपसार, अवैध कल बाइपास, सुन तस्करीलगायत सामाजिक, आर्थिक तथा संगठित अपराधमा संलग्न रहेको अभियोगमा उनीहरू नेपालबाट निकालिएका हुन् ।

मन्त्रालयको तथ्यांकअनुसार २०७२ साउन देखि १६ महिनाको अवधिमा ती विदेशीलाई उनीहरुकै देश फिर्ता पठाइएको हो । अध्यागमन विभागका अनुसार आव ०७१/७२ को अवधिमा ५१ मुलुकका ३ सय २६ विदेशी देश निकालामा परेका थिए ।

प्रहरीसँगको समन्वयमा अनधिकृत रूपमा बसेका विदेशी नागरिकको खोजीका लागि निगरानी बढाइएको विभागले जानकारी दिएको छ । नेपालको अदालतबाट दोषी ठहर भई कैद भुक्तान गरिसकेका विदेशीलाई पनि कसुर हेरी फिर्ता हुन नपाउने गरी निकाला गरिँदै आएको छ ।

असोजमा मात्रै मन्त्रिपरिषद् बैठकले १० विदेशीलाई कल बाइपास, चोरी, लागूऔषध तस्करी, ओभरस्टेलगायत कसुरमा निकाला गर्न गृह मन्त्रालयलाई अनुमति दिएको थियो । केन्द्रीय कारागार, सदरखोर डिल्लीबजार, नख्खुलगायत विभिन्न कारागारमा ८ सयभन्दा विदेशी कैदी कैद सजाय भुक्तान गरिरहेका छन् ।

कारागार व्यवस्थापन विभागका अनुसार भारत, चीन, पाकिस्तान, बंगलादेश, पेरु, थाइल्यान्डलगायत दुई दर्जनभन्दा बढी मुलुकका नागरिक अदालतको आदेशअनुसार कैद भुक्तान गरिरहेका हुन् ।