काठमाडौं, ७ मंसिर । वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका निमित्त प्रमुख कृष्णप्रसाद दवाडीले दुई दिनअघि नै पछाडिको हाजिर गरेको भेटिएको छ । व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साहसहित सांसदको टोलीले विभागमा गत कात्तिक ३० गते स्थलगत अध्ययन तथा अनुगमन गर्दा दवाडीले मङ्सिर २ गतेसम्मको हाजिरी गरेको भेटिएको हो ।
अनुगमन टोली जाँदा सोही दिन समेत दवाडी कार्यालयमा अनुपस्थित रहेको सभापति साहले जानकारी दिए । सो दिन ३० कर्मचारी अनुपस्थित थिए । दुई दिन वा सोभन्दा बढी समयसम्म स्वीकृत नगराई अनुपस्थित हुने कर्मचारी १८ जना थिए । एक जना कर्मचारी त बिदा स्वीकृत नगराई १४ दिनदेखि अनुपस्थित थिए ।
अनुगमनसम्बन्धी समितिले समितिमा प्रतिवेदन प्रस्तुत गर्दै सेवाग्राहीबाट रकम सङ्कलन गर्न एभरेस्ट बैंक लिमिटेडको एउटा मात्रै काउन्टर कार्यालयमा हुँदा चार÷पाँच घन्टा लाग्ने भएकाले बहुबैंकिङ प्रणालीमा गई अन्य बैंक मार्फत पनि राजस्व सङ्कलनको व्यवस्था मिलाउने, व्यक्तिगत श्रम स्वीकृतितर्फ कागजात दर्ता गर्न काउन्टर थप गर्ने, व्यक्तिगत श्रम स्वीकृतिका निम्ति कागजात जाँच गर्ने कार्य दुई तहमा मात्रै सीमित गर्न सुझाव तथा निर्देशन दिएको हो ।
