काठमाडौं, ७ मंसिर । तपाईले आफ्नो कार्यालय वा सार्वजनिक स्थानमा अनावश्यक रुपमा बत्ती बालेर छाड्नु भएको छ वा हिटर पङ्खा चलाएर ननिभाइकन छाड्नुभएको छ ? अब त्यसो नगर्नु होला ।
सार्वजनिक स्थानमा अनावश्यक समयमा समेत विद्युत् उपयोग भइरहेको पाइएपछि ऊर्जा मन्त्रालयले परिपत्र जारी गर्दै सबै सरकारी कार्यालयलाई अनावश्यक समयमा विद्युत् प्रयोग बन्द गर्न आग्रह गरेको छ । विशेष गरी सरकारी कार्यालयमा अनावश्यक रुपमा विद्युत् प्रयोग बढी भइरहेको पाइएपछि त्यसखालको परिपत्र गरिएको ऊर्जा मन्त्रालयले बताएको छ ।
ऊर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तत्काल सार्वजनिक स्थानमा अनावश्यक रुपमा विद्युत् उपभोग भइरहेको पाइए त्यसलाई निरुत्साहित गर्न निर्देशन दिएका छन् ।
सिंहदरबारभित्रैका मन्त्रालय, सरकारी भवन तथा गैरसरकारी क्षेत्रमा समेत कार्यालय समयपछि समेत अनावश्यक रुपमा विद्युत प्रयोग भइरहेको भन्ने सूचनाका आधारमा मन्त्री शर्माले उक्त निर्देशन दिएको उनका स्वकीय सचिव विक्रान्त शर्माले बताए ।
यस्तै त्रिभुवन विश्वविद्यालयको केन्द्रीय विभाग, अन्य आङ्गिक क्याम्पसमा समेत अनावश्यक रुपमा विद्युत् प्रयोग भइरहेको गुनासो मन्त्रालयको गुनासो सुनुवाइ इकाइमा प्राप्त भएको छ । सरकारी निकायले नै विद्युत् महसुल नबुझाएको भन्ने प्राधिकरणको दाबी र त्यस्तै निकायमा समेत अनावश्यक रुपमा विद्युत् प्रयोग भइरहेको पाइएपछि मन्त्रालयले परिपत्र गर्न लागेको हो ।
प्राधिकरणले यसअघि नै साँझ बढी विद्युत् माग हुने समयमा पानी तान्ने पम्प, हिटर, गिजरलगायत सामग्री प्रयोग नगर्न आग्रह गरिसकेको छ । दिउँसो काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिकामा सडक बत्ती बलिरहेको भन्ने सूचनाका आधारमा त्यस्ता सडक बत्ती निभाउन समेत सार्वजनिक सूचनामार्फत आग्रह गरिसकेको छ ।
काठमाडौं उपत्यकालाई विद्युतभार कटौती मुक्त गरेको र त्यसलाई नियमित रुपमा राख्न सबैको साथ र सहयोग जरुरी रहेको भन्दै प्राधिकरणले त्यसखालको सहयोगको अपेक्षा गरेको छ । साँझ ६ बजेदेखि राति नौ बजेसम्म उपत्यकालाई मात्रै ३१५ मेगावाट विद्युतको आवश्यकता पर्छ ।
