काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले आज बौद्धनाथ स्तुपाको उद्घाटन गरेका छन् । २०७२ साल बैशाख १२ गतेको भूकम्पबाट क्षति भएको बौद्धनाथ स्तुपाको पुननिर्माण सकिएपछि उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले बौद्ध स्तुपाको पुनर्निर्माण देशकै उत्कृष्ट नमूना भएको बताए। उनले ‘देश र जनताको लागि केही गर्नेहरुका लागि बौद्ध स्तुपाको पुनर्निर्माण एउटा उद्यारणीय नमूना भएको बताए ।

cms-image-000008403-624x425२०७२ बैशाख १२ को भूकम्पले क्षति पुगेका उपत्यकाका सम्पदामध्ये पुनर्निर्माण सम्पन्न भएको बौद्ध स्तुपा नै पहिलो हो। मंसिर ३ गतेदेखि बौद्ध गुरुसहितका अतिथिहरूको उपस्थितिमा विधिवत प्राण प्रतिष्ठा (पुजा) गरिंदै प्रधानमन्त्रीले उद्घाटन गरेका हुन्। निजी क्षेत्रको सक्रियतामा २३ करोड लागतमा नयाँ अवतारमा देखिएको बौद्ध स्तुपालाई युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको छ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीसहित पर्यटन मन्त्री जीवनबहादुर शाही, चिनियाँ बौद्ध धर्मगुरु इन सुन लगायतका बौद्धधर्म गुरुहरुको उपस्थिति थियो। बौद्ध स्तुपा निर्माण गर्दा चीन र चीनभित्रका विभिन्न संघसंस्था, तिब्बती धर्मगुरु र स्थानीयसहितको करिब ३० करोड बराबरको रकम संकलन भएको थियो। २३ करोडमा स्तुपाले नयाँ रुपरंगसहित समयमै पुनर्निर्माण भएको बौद्धनाथ विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले जनाए।

बाँकी ७ करोड रकम बौद्धनाथ विकास समितिको कोषमा राखिएको छ। बौद्ध स्तुपाको निर्माण गर्न तिब्बती धर्मगुरु ताइ सितुपा रिन्पोचे एक्लैले २६ केजी सुन दान गरेका थिए भने चीन सरकार र चिनियाँ संघसंस्थाबाट ८ करोड बराबरको रकम संकलन भएको थियो। स्थानीय बौद्ध धर्मलम्बी र अन्य दाताहरुको आर्थिक सहयोगका अतिरिक्त जनश्रमदान पनि गरिएको थियो।