जनकपुरधाम, ७ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवादको माध्यमले संविधानको संशोधन र कार्यान्वयन गरी सङ्घीयता र गणतन्त्रलाई सुनिश्चित गर्नुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले सङ्घीयता, लोकतन्त्र एवम् समावेशिता जस्ता महत्वपूर्ण उपलब्धिलाई गुमाउने मूर्खता कसैले पनि गर्न नहुने बताए । यस्तै पौडेलले राष्ट्रिय सहमति कायम गरी संविधान संशोधनको प्रक्रिया अगाडि बढाइने बताएका छन् ।
यस्तै पौडेल एकसाता लामो तराई यात्रा सकेर आज काठमाडौँ फर्किएका छन् ।
पौडेलले गत मंसिर २ गते वीरगंजबाट तराई यात्रा सुरु गरी बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको भ्रमण गरेका छन् । नेपाल तरुण दलको सर्वसम्मत नयाँ नेतृत्व चयन गरेर पोखराबाट फर्केको भोलीपल्ट विहीबार पौडेल तराई यात्रामा निस्केका हुन्।
