काठमाडौँ, ६ मंसिर । अब जलविद्युतमा जनताले पनि लगानी गर्न पाउने भएका छन् । सरकारले नेपाली नागरिकलाई जलविद्युत् आयोजनामा लगानी गर्न दिने व्यवस्थासहित विधिवत् रुपमा जलविद्युत् उत्पादन कम्पनी स्थापना गरेको छ । ‘नेपालको पानी जनताको लगानी’ भन्ने नाराका साथ ऊर्जा मन्त्री जनार्दन शर्माले सार्वजनिक गर्नुभएको ३७ बुँदे कार्ययोजनाका आधारमा ऊर्जा मन्त्रालयले आइतबार कम्पनी रजिष्टारको कार्यालयमा उक्त कम्पनी दर्ता गरेको हो ।
कम्पनी दर्ता भएसँगै नेपाली जनतालाई आफ्नो क्षमताअनुसार तोकिएका जलविद्युत् आयोजनामा लगानीका लागि मार्ग प्रशस्त भएको छ । ऊर्जा मन्त्रालयका सहायक प्रवक्ता गोकर्णराज पन्थले पनि जनतालाई सक्रिय रुपमा जलविद्युत् आयोजनामा लगानी गर्ने अवसर प्रदान गर्न कम्पनी स्थापना गरिएको जानकारी दिए ।
निजी क्षेत्रका आयोजनाले सामान्यरुपमा साधारण सेयर खोल्दासमेत अर्बौंको लगानी गर्न तम्सने नेपाली नागरिकलाई कम्पनी स्थापनाले खुसी तुल्याउने उर्जा मन्त्रालयले विश्वास गरेको छ । मन्त्रालयले अब आन्तरिक लगानी जलविद्युत्मा ओइरिने जनाएको छ । “मन्त्रालयले ६१ लाख ६० हजार दर्ता शुल्क तिरेर कम्पनी दर्ता गर्यो, अब ऊर्जा सचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा सञ्चालक समिति गठन हुन्छुु, सहायक प्रवक्ता पन्थले भने, ुुत्यो समितिले प्रमुख कार्यकारी अधिकृत छनोटलगायतको प्रक्रिया सुरु गर्छ”
जलविद्युत् उत्पादन कम्पनीमा नेपाली नागरिकले २७ प्रतिशतसम्म लगानी गर्न पाउनेछन् । आयोजना प्रभावित क्षेत्रका नागरिकले १० प्रतिशत लगानी गर्न पाउने भएका छन् । कम्पनीको अधिकृत पुँजी २० अर्ब चुक्ता पुँजी दुई अर्ब रहेको छ ।
आयोजनामा कर्मचारी सञ्चय कोषले १० प्रतिशत, नागरिक लगानी कोषले पाँच, जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले चार, नेपाल टेलिकमले १०, राष्ट्रिय बिमा संस्थानले दुई प्रतिशत सेयरका रुपमा लगानी गर्न पाउने भएका छन् ।