इन्द्रेणी संवाददाता
दाङ, ५ जेठ । रापती समाज काठमाडौंले देउखुरीका अग्निपीडित गाउँहरुमा पुगेर राहत वितरण गरेको छ । समाजका अध्यक्ष शशी शर्मा मजगैंया र महासचिव टीका भण्डारी लगायतको टोली गंगापरस्पुरको बाँकी र खजरौटा तथा गढवा– ३ वनकट्टी पुगेर राहत वितरण गरेको हो ।
समाजले बाँकी र खजरौटाका ५४ घरपरिवार तथा गढवा– ३ वनकट्टीका २ घर परिवारमा ३७ हजार बराबरको जस्तापाता र ५५ हजार बराबरको लत्ताकपडा वितरण गरेको थियो । अमेरिकामा बस्दै आएका समाजका आजीवन सदस्य एवं समाजसेवी सुवास अधिकारीले उपलव्ध गराएको ५२ हजार बराबरको सहयोग र घोराहीकी समाजसेवी मञ्जु भण्डारीले उपलव्ध गराएको कपडा वितरण गरिएको समाजका अध्यक्ष शशी शर्मा मजगैंयाले बताए ।
राहत वितरणका लागि समाजका अध्यक्ष शशी शर्मा मजगैंया, महासचिव टीका भण्डारी, निवर्तमान उपाध्यक्ष महेश डाँगी, समाजसेवी मञ्जु भण्डारी र अस्मिता भण्डारी लगायतको टोली अग्निपीडित गाउँमा पुगेको थियो । राहत हस्तान्तरण कार्यक्रमको सहजीकरण सामाजिक अभियन्ता हिमोढ पहाडीले गरेका थिए । कार्यक्रममा राहत संकलन समितिका संयोजक तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाका सभापति दीपककुमार यादव र सञ्चारकर्मी शिवराज पन्थीले मन्तव्य व्यक्त गरेका थिए ।
गढवा– ३ वनकट्टीकी अग्निपीडित लालकुमारी थापाले समाज नै पहिलोपटक राहत लिएर आएको बताउँदै हर्ष प्रकट गरिन् । उनले सामुदायिक वन उपभोक्ता समूहले निःशुल्क काठ उपलव्ध गराइदिएमा आफूहरुलाई सहज हुने बताइन् ।
रापती समाज काठमाडौंका अध्यक्ष शशी शर्मा मजगैंयाले समाजले रापतीवासीका हरेक सुखदुःखमा हातेमालो गर्दै आएको स्मरण गर्दै यसपालि पनि दायित्वबोध गरी अग्निपीडितहरुलाई सहयोग गर्न आएको उल्लेख गरे । उनले यसअघि पनि समाजले अग्निपीडित, भूकम्पपीडित, बेसहारा, विरामीहरुको सहयोगमा हातेमालो गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने उल्लेख गरे ।