इन्द्रेणी संवाददाता
दाङ, १ मंसिर। पछिल्लो समय दाङमा ई–रिक्सामा महिलाहरुको आकर्षण वढ्दै गएको छ । महिलाहरुले चालक काम गर्नुहुँदैन भन्ने यहाँको परम्परालाई तोड्दै दङ्गाली महिलाहरुले धमाधम ई–रिक्सा किनेर चलाउने गरेका छन् ।
जिल्लाका विभिन्न बजारमा २० जनाभन्दा महिलाले ई–रिक्सा किनेर चलाउँदै आएका छन् । जिल्लामा शुरुमा लक्ष्मी रानाले मात्रै ई–रिक्सा किनेर चलाउँथिन् । ‘यो जिल्लाको पहिलो ई–रिक्सा चालक म हो तर अहिले धेरै भइसकेका छन्’, रानाले भनिन्, ‘महिलाहरुको आकर्षण यो रिक्सामा धेरै छ ।’
आफू चालक भएपछि धेरै महिलाहरुलाई ई–रिक्सा चलाउन आफैँले सिकाएको उनले बताईन् । अहिले पनि तीनरचार जनालाई चलाउन सिकाइरहेको रानाले बताईन् । महिलाहरु इमान्दार र मेहेनती भएकाले महिला चालक भएको रिक्सामा यात्रीहरु वढी वस्ने गरेको ई–रिक्सा महिला चालकहरुको अनुभव छ । यसबाट आम्दानी पनि राम्रै हुने गरेको उनीहरुको भनाइ छ ।
लक्ष्मी जिल्लाको पहिलो ई–रिक्सा चालक मात्रै होइन उनले जिल्लामा ई–रिक्सा चलाउने महिलाहरुलाई संगठित गरी अटो रिक्सा चालकहरुको प्रमुख पनि बनेकी छन् । ‘महिलाहरु यो पेशामा लागेको धेरै भएको छैन, करीव सात आठ महीना जति भएको छ’, उनले भनिन्, ‘एकता विना केही हुँदोरहेनछ सबैले हेप्दा रहेछन् त्यसैले हामी पनि संगठित बन्दै गएका छौं ।’
पहिले–पहिले महिलाहरुले रिक्सा चलाउदा सबैले खिस्सी गर्ने गरेपनि अहिले यसबाट आम्दानी राम्रो हुने गरेको ई–रिक्सा चालक महिलाहरु बताउँछन् । दैनिकजसो कम्त्तीमा पनि दुई÷तीन हजार कमाइ गर्ने गरेका छन् । ‘कमाइ राम्रो छ तर अहिले धेरै यस्ता रिक्सा तथा टेम्पोहरु आइसके प्रतिस्पर्दा धेरै छ’, अर्की रिक्सा चालक रमा गाह मगरले भनिन् । आफू यो पेशाबाट दुई÷चार सय रुपैयाँ कमाउन थालेपछि दैनिक घर खर्च चलाउन पनि सजिलो भएको उनको भनाइ छ ।
करीव सात महीनाको अवधिमा जिल्लामा ई–रिक्सा र टेम्पोको सङ्ख्या अत्यधिक वढेको छ । सात महीनाको अवधिमा जिल्लाका घोराही, तुलसीपुर, लमही, भालुवाङलगायतका बजार क्षेत्रमा गरी करीव तीन सय वढी ई–रिक्सा र टेम्पो सञ्चालनमा आएका छन् ।