काठमाडौं, ३० कार्तिक । संशोधित सवारी तथा यातायात व्यवस्था नियमावली अनुसार सवारी चालक अनुमतिपत्र लिन चाहनेले एक पटक लिखित परीक्षा उत्तीर्ण गरेपछि ९० दिनभित्र ३ पटकसम्म ट्रायल परीक्षा दिन पाइने छ । यसअघि लिखित परीक्षा उत्तीर्ण गरेपछि एक पटकमात्र ट्रायल दिन पाइने व्यवस्थाको सफ्टवेयर विकास गरिएको थियो ।
तर संसोधित नेमावली लागू भएपछि प्रभावित भएको सवारी चालक अनुमतिपत्र लिने प्रक्रिया अझै सुचारु हुन सकेको छैन । “पहिले एक पटक ट्रायल परीक्षा अनुत्तीर्ण गरे पुनः नयाँ प्रक्रियाबाट लिखित दिएर ट्रायलमा समावेश हुुनुपर्ने व्यवस्था थियो,” यातायात व्यवस्था कार्यालय बागमतीरसवारी चालक अनुमतिपत्रका प्रमुख चेतप्रसाद उप्रेतीले भने, “अहिले नयाँ व्यवस्था गरिएको छ ।
एक पटक लिखित परीक्षा उत्तीर्ण गरे ३ पटक ट्रायल परीक्षा दिन पाइन्छ । त्यसका लागि पुरानो सफ्टवेरले काम नगर्ने भएकाले सफ्टवेर अपडेट हुने काम भइरहेको हो ।”
उक्त काम यातायात व्यवस्था विभागले गर्ने भएकाले त्यहाँबाट सफ्टवेर अपडेट गरेर पठाएपछि कार्यालयले लाइसेन्स दिने काम अगाडि बढाउने उनको भनाइ छ । विभागले मंसिर पहिलो सातासम्म सफ्टवेर बनेर आउने बताएकाले आउनासाथै काम अगाडि बढाउने उप्रेतीले जानकारी दिए ।