पाल्पा, २७ कार्तिक । भारतले भारतीय पाँच सय र एक हजार दरका टनोमा प्रतिबन्ध लगाएपछि पाल्पाका सहरदेखि गाउँगाउँमा नोट साट्न बिचौलिया सक्रिय भएका छन् । भारतीय सेनामा कार्यरत सैनिक, भूपू सैनिक, भारतमा रोजगारी गर्नेका घरघरमा पुगेर अब भारतीय नोट नचल्ने र नेपाली रुपैयाँसँग बराबरमा साट्ने भन्दै आएको एक स्थानीयले बताए । बिचौलियाले भारु पाँच सयलाई नेपाली पाँच सय रुपैयाँ साटिदिएका छन् ।
भारतमा रोजगारी गर्ने पाल्पाका अधिकांश घरमा पाँच हजारदेखि एक लाख रुपैयाँसम्म पाँच सय र हजार दरका भारतीय नोट रहेको बताइएको छ । राष्ट्र बैंकले भारतीय रुपैयाँका विषयमा नेपाली जनतालाई विश्वसनीय सूचना दिन नसक्दा पाल्पाका ग्रामीण भेगका जनता पाँच सय र हजार दरका भारु नोट नचल्ने हो कि भन्ने चिन्ताले नेपाली रुपैयाँबराबरमा साट्न बाध्य भएका छन् ।
यही मौका छोपी भारु नोटका दलालहरू गाउँ–गाउँमा सक्रिय भएका हुन् । अहिले गाउँ–गाउँबाट समान किन्नका लागि भारतीय पाँच सय र हजार दरका नोट लिएर ग्राहक आउने गरेको तानसेनका व्यापारी शैलेन्द्र भट्टराईले बताए । दैनिक ४० देखि ५० जना ग्राहक भारु लिएर सामान किन्न आउने गरेको उनले बताए । उनले भने । ‘कैयौँ ग्राहकले भारु मात्र भएको भन्दै किनेको सरसमानसमेत छाडेर जाने गरेका छन् ।’
भारतीय रुपैयाँ कहिलेकाहीँ देखिँदै आएकोमा अहिले पुस्तक पसलमा कापी–कलम, किताब किन्ने ग्राहकले पनि पाँच सय र हजार भारतीय रुपैयाँ लिएर आउने गरेको कान्तिपुर स्टेसनरीका किशोर भट्टराईले बताए । भारतबाट फर्किएका कैयांँ नेपालीले ल्याएको रकम सीमावर्ती क्षेत्र सुनौली, कृष्णनगर क्षेत्रमा नेपाली रुपैयाँसँग बराबरमा साटेर आउने गरेका छन् । खल्तीमा प्रशस्त रकम भए पनि, बजारमा भारतीय रुपैयाँको कुनै कारोबार नभएपछि ग्रामीण भेगका जनता बैंक नियमित धाउन थालेका छन् ।
राष्ट्रिय वाणिज्य बैंक पाल्पामा दैनिक २० देखि ४० जना भारतीय रुपैयाँ साट्न आउने गरेको प्रबन्धक मित्रलाल नेपालीले बताए । बैंकमा आएका ग्रामीण भेगका जनतालाई भारतीय रुपैयाँ साट्ने व्यवस्था सरकारले मिलाउँदै छ भनेर सम्झाएर पठाउने गरेको प्रबन्धक नेपालीले बताए ।
