काठमडौ २६ कात्तिक । सांसदहरूले अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरूद्धको महाअभियोग प्रस्ताव पारित हुनेगरी पहल थाल्न शीर्ष नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
व्यवस्थापिका संसदको आजको बैठकमा महाअभियोग प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरूले कानुन हातमा लिएर सर्वोच्चको काममा अवरोध पु¥याएको, अधिकारको दुरुपयोग गरी उदण्ड मच्चाएको भन्दै सबै दलले एक भएर महाअभियोग प्रस्ताव पारित गर्नुपर्नेमा जोड दिएका हुन् ।
संसद्मा बोल्दै नेपाली कांग्रेसका सांसद धनराज गुरुङले संवैधानिक निकायको प्रमुख रहेका कार्कीले संसदीय समितिले बोलाउँदा छलछाम गरेर जनमतको उपेक्षा गरेको आरोप लगाउनुभयो ।
नेकपा एमालेका सांसद पुरुषोत्तम पौडेलले कार्कीले कानुनको उल्लंघन गरेर लोकतन्त्रको उपहास गर्दा संसद मौन बस्न नहुने धारणा राख्नुभयो । नेकपा मालेका सांसद शिवचन्द्र चौधरीले विगतमा गलत काम गरेको पुष्टि भए पनि प्रमुख दलले कार्कीलाई अख्तियारमा नियुक्त गरेर गल्ती गरेको टिप्पणी गर्नुभयो । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले कार्कीको विगत जानकारी भए पनि प्रमुख दलहरूले विदेशीको दबाबमा अख्तियारमा नियुक्त गरेको आरोप लगाउनुभयो ।











