काठमडौ २६ कात्तिक । नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा केही दिनअघि भारत जाँदा दलाई लामाका प्रतिनिधिसँग भेट गरेको भन्ने आरोपको खण्डन गरेको छ ।
आज विज्ञप्ति जारी गरी कांग्रेसले इन्डिया फाउन्डेसनद्वारा आयोजित ‘डेमोक्रेसी डेभलपमेन्ट एन्ड डिसेन्ट’ विषयक कार्यक्रमको प्रमुख अतिथिको रुपमा देउवाले सम्बोधनमात्र गरेको जनाएको हो । केही सञ्चारमाध्यममा दलाई लामाका प्रतिनिधि भेटेको भन्ने समाचार आइरहेको भन्दै कांग्रेसले त्यो कपोलकल्पित भएको उल्लेख गरेको छ ।
कांग्रेसले दर्शकदिर्घामा को–को थिए र को कहाँ बसेका थिए त्यो देउवालाई थाहा हुने विषय नभएको बताएको छ । सभापति देउवालाई एक चीन नीतिप्रतिको दृष्टिकोणबारे कसैले सिकाइरहनु नपर्ने पनि कांग्रेसले दाबी गरेको छ ।