बाँके, २६ कार्तिाक । नेपालगन्ज–बघौडा जोड्ने हुलाकी राजमार्गको निर्माण पुनः सुरु हुने भएको छ । पटक–पटक निर्माण सुरु हुन लागे पनि पुनः बन्द हुने र ठेकदार बीचमै भाग्ने गरेका कारण राप्तीपारिका बासिन्दाले सडक निर्माण हुनेमा आशंका व्यक्त गर्दै आएका छन् ।
सडक निर्माण नभएकै कारण नेपालगन्जदेखि ४४.०६ किमि सडक पार गर्न सो क्षेत्रका बासिन्दालाई दिनभर लाग्ने गरेको छ । वर्षायाममा त सडक नभएकै कारण सो बाटो केही महिनाका लागि बन्द हुने गरेको छ ।
सडक नहुँदा सो क्षेत्रका बासिन्दालाई भारतको बाटो प्रयोग गर्नु, आफ्नो योजना सार्नु, अकालमा ज्यान गुमाउनु, एम्बुलेन्स र दमकल पुग्न नसक्नु सामान्य भैसकेको छ ।
यसैक्रममा नेपालगन्ज वडा नं. २ र ५ मा सडक जग्गा अधिग्रहण गर्नेबारे हुलाकी राजमार्ग आयोजना, नेपालगन्जले सूचना प्रकाशित गरेपछि सडक निर्माण सुरु हुने आशा गरिएको छ ।
सरकारले हुलाकी राजमार्ग आफैं बनाउने भएपछि टेन्डर खोल्ने तयारी गरेको छ । हुलाकी राजमार्ग आयोजना नेपालगन्जका प्रमुख तुरुन्त मण्डलले टेन्डर खुल्ने तयारी भैरहेको बताउँदै निर्माणको जिम्मा पाउने कम्पनीले एक महिनाभित्रै निर्माण कार्य सुरु गर्नुपर्ने बताएका छन् ।
नेपालगन्जको पुष्पलाल चोकदेखि कटकुईंया गाविसको सुईयासम्म निर्माण गरिने सो सडक पटक–पटक चर्चामा आए पनि निर्माण हुन सकेको छैन ।
