काठमाडौ,२५ कार्तिक । भनिन्छ चोरका हजारथरी बुद्धि । तर, त्यो फेरिदा बुद्धिलाई नेपाल प्रहरीले लामो समयसम्म टिक्न दिएको भने छैन । पछिल्लो समयमा नेपालमा तस्करहरुले रक्तचन्दन तस्करीको नयाँ शैली अपनाएको तथ्य खुलेको छ । बहुमूल्य मानिएको प्रतिबन्धित रक्तचन्दनको गोलियालाई पेलेर तेल बनाई तस्करी गर्ने गरेको पाइएको छ । यसैक्रममा प्रहरीले दुई जनालाई रक्तचन्दनको तेलसहित पक्राउ परेपछि यो तथ्य बाहिर आएको हो ।

timthumbप्रहरीका अनुसार राजनीतिक र प्रशासनिक आडमा मौलाएको रक्तचन्दन तस्करीमा कडाइ गरेपछि तस्करहरूले अब तेल बनाएर रक्तचन्दन तस्करीको धन्दा अघि बढाएका हुन् । भारतबाट चीनतर्फ तस्करी गर्न लागेको रक्तचन्दनको तेलसहित कीर्तिपुर प्रहरीले खोटाङ खाल्टे–७ का चन्द्रकुमार केसी र काभ्रे जैसीथोकका फणीन्द्र भट्टराईलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट ९० लिटर रक्तचन्दको तेल बरामद भएको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक मेखबहादुर खत्रीका अनुसार अभियुक्तहरूले तेल बनाएर भारतबाट नेपालको बाटो हुँदै चीनतर्फ तस्करी गर्न लागेका हुन् । रक्तचन्दनको कारोबार हँुदै छ भन्ने जानकारी पाए पनि प्रहरीले सो तेल बरामद गर्न लामो समय कुर्नुपरेको थियो । ‘विगत दुई महिनादेखि नै हामीले रक्तचन्दको तेल तस्करी हुँदै छ भन्ने सूचना पाएका थियौं । तर, फेला पार्न सकेका थिएनौं । हिजो फेला पर्यो,’ डीएसपी खत्रीले भने ।

डीएसपी खत्रीका अनुसार ९० लिटर सो तेल कतिमा कहाँ बेच्न लैजान लागेको हो भन्नेबारे पक्राउ परेका व्यक्तिले केही पनि बताउन चाहेका छैनन् । तीन वर्षअघि १० लिटर रक्तचन्दनको तेलसहित प्रहरीले बालाजु चोकबाट दुईजनालाई पक्राउ गरेको थियो । बागलुङका ४५ वर्षीय हीराबहादुर छन्त्याल र काभ्रेका ३३ वर्षीय औलसिंह तामाङ १० लिटर तेलसहित पक्राउ परेका हुन् । त्यसअघि पनि रक्तचन्दनको पाँच लिटर तेलसहित एकजना पक्राउ परेका थिए ।

पछिल्लो घटनाले तस्करहरूले रक्तचन्दन लैजान नसकेपछि यसबाट तेल उत्पादन गरेर चीनतर्फ तस्करी गरिरहेका छन् भन्ने पुष्टि भएको कीर्तिपुर प्रहरी वृत्तका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।