कास्की, २५ कार्तिक । कास्की पोखराको हङकङ बजारमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । गएराति भएको आगलागीबाट बजार भित्रका २९ वटा सटर जलेर पुर्णरुपमा क्षतिग्रस्त भएका छन् ।
राति करिब १०ः२० बजेको समयमा आगलागी हुँदा उक्त बजारमा रहेका ३० वटा सटरसहित आसपासका केही पसल र बजारको संरचना जल्दा करिब ५ करोड बराबरको क्षति भएको हङकङ बजार सञ्चालक मिलनप्रसाद तिवारीले जानकारी दिएका छन् ।
बजार भित्र सजिसजावटमा सबैभन्दा बढी आकषर्ण रहेको ब्लक नम्बर ख को ९५ नम्बर सटरदेखि १ सय २३ नम्बरका सवै सटरसहित त्यहाँका अन्य पसलहरु आगोबाट ध्वस्त भएको संचालक तिवारीले बताए ।
आगलागीबाट २९ वटा सटरहरु रहेको ब्लकसहित आसपासमा रहेका केही पसलहरुमा आंशिक क्षति भएको छ । आगलागी भएको आधा घण्टामा दमकल आए पनि पानी बोक्ने ट्याङकरको अभावले आगोलाई नियन्त्रणमा लिन ढिलाई हुँदा बढी क्षति हुन पुगेको व्यावसायीहरुको गुनासो छ ।
