काठमाडौं, २५ कार्तिक । अरुण तेस्रो जलविद्युत् आयोजनाबाट विस्थापित संखुवासभावासीले १ खर्ब २५ अर्ब मुआब्जा वितरण गरिदैछ । आयोजनाबाट प्रभावित संखुवासभाको विकट क्षेत्रहरू नुम, पाथीभरा, याखु र जिविङ गाविसका विस्थापितले मुआब्जावापतको यो रकम वितरण गरिना लागेको हो ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जग्गा क्षतिपूर्ति निर्धारण समितिले ती गाविसका २ सय ६९ घरधुरीलाई प्रतिरोपनी जग्गाको मात्रै ८ देखि १२ लाख रुपैयाँसम्म मुआब्जा निर्धारण गरेको छ ।
आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनीले यो रकम उपलब्ध गराएको छ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले मुआब्जा वितरण सुरु गरिएको जानकारी दिए । “जग्गाको मुआब्जावापत झण्डै सवा एक खर्ब वितरण गर्न लागेका छौं ” उनले भने ।
९ सय मेघावाटको अरुण तेस्रोको निर्माण अघिसम्म प्रतिरोपनी एक लाख रुपैैयाँ पनि नपर्ने सो क्षेत्रमा एक परिवारले ५ करोडसम्म बुझ्ने आयोजना स्रोतले जनाएको छ । अतिविकट र आर्थिक रूपमा समेत कमजोर अरुण तेस्रो प्रभावित क्षेत्रका कतिपय बासिन्दा मुआब्जाबाट एकैपटक करोडपति बन्नेछन् ।
जिल्ला प्रशासन कार्यालय संखुवासभाका अनुसार, ३५ दिनभित्र मुआब्जा बुझ्न आउने सूचनाअनुसार हालसम्म ९९ परिवारले निवेदन दिइसकेका छन् भने १० घरधुरीले रकम लिइसकेका छन् ।
