काठमाडौं, २५ कार्तिक । मंगलवार रातिदेखि भारतले भारु पाँच सय र एक हजारका चालु नोटमा प्रतिबन्ध लगाएपछि यसको प्रत्यक्ष असर नेपाली सर्वसाधारणदेखि व्यापारीसम्ममा परेको छ । यसले नेपालको अर्थतन्त्रमा समेत हलचल मच्चाएको छ ।
नेपाल राष्ट्र बैंकले भारतीय रिजर्भ बैंक (आरबीआई) ले साट्ने ग्यारेन्टी नलिएसम्म नेपालमा सटही सुविधा नदिइने जनाएको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले केन्द्रीय बैंकले पहल गरिरहे पनि तत्काल सटही सुविधा भने उपलब्ध नहुने स्पष्ट पारे ।
खुला सिमानाका कारण बर्सेनि लाखौं नेपाली रोजगारीका लागि भारतका विभिन्न सहरमा जाने गरेका छन् । नेपालको भारतसँग अनौपचारिक व्यापारको हिस्सा पनि निकै ठूलो छ ।
अध्ययनका साथै उपचारका लागि ठूलो संख्यामा नेपाली नागरिक भारत जाने हुँदा नेपालीसँग प्रतिबन्ध लगाइएका नोट रहेको अनुमान छ । दुई वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि २५ हजारसम्म भारु साट्न पाउने गरी ५ सय र १ हजारका नोट प्रयोगमा लागेको प्रतिबन्ध हटेको थियो । त्यसपछि नेपालका बैंक तथा वित्तीय संस्थादेखि सर्वसाधारण सबैले यी दरका नोट लिएका थिए ।
राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई मौज्दात रहेको ५ सय र १ हजार भारुको विवरण पठाउन निर्देशन दिइसकेको छ । बुधबार बेलुकासम्म १५ वटा बैंकले विवरण दिएका छन् । बैंकरका अनुसार धेरैजसो बैंकमा प्रतिबन्ध लागेका नोटको उल्लेख्य मौज्दात भने छैन ।
पालको दुईतिहाइ औपचारिक व्यापार भारतसँग हुने गरेको छ । भारतबाट अनौपचारिक रूपमा आयात गर्ने व्यापारी पनि धेरै छन् । राष्ट्र बैंक र बैंकरहरूको अनुमानमा यसरी व्यापार गर्नेहरूसँग ठूलो परिणाममा भारु मौज्दात छ ।
