दोलखा, २३ कार्तिक । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अवलोकन तथा निरीक्षण गरेका छन् । अवलोनमा पुगेका प्रधानमन्त्री दाहाल आयोजनाको प्रगति देखेर उत्साहित भएका छन् ।
तामाकोशी आयोजना निर्माणस्थलको मंगलवार अवलोकन गर्दै प्रधानमन्त्री प्रचण्डले त्यहाँ कार्यरत अप्पर तामाकोशी हाइड्रो पावर कम्पनीका कर्मचारी र व्यवस्थापनलाई तीब्र गतिमा काम गर्न पनि निर्देशन दिए । ‘तामाकोशीको प्रगति देखेर म उत्साहित भएको छु’, प्रधानमन्त्रीले भने, ‘तीब्र गतिमा काम गर्नुस्, यो आयोजना सम्पन्न भएपछि लोडसेडिङ अन्त्य हुनेछ र देशले विकासको गति लिनेछ ।’
सरकारले माथिल्लो तामाकोशी आयोजनालाई ऋणका रुपमा दिएको ११ अर्ब रुपैयॉ अति बिपन्न, सहिद र बेपत्ता परिवारलाई सेयरका रुपमा वितरण गर्ने पनि दाहालले बताए । ४५६ मेगावाटको यो आयोजना २०७३ साउनमा सकिनुपर्नेमा २०७२ वैशाखको भूकम्प र त्यसपछिको भारतीय नाकाबन्दीका कारण निर्माण ठप्प हुँदा २ वर्ष पर धकेलिएको छ ।
भूकम्प र नाकाबन्दीकारण दुई वर्ष पछि अर्थात २०७५ असारसम्म निर्माण पुरा गर्ने नयाँ लक्ष्यका साथ तीब्र गतिमा काम अघि बढाइएको अपर तामाकोशी हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए । यो असोजसम्म यस आयोजनाको ८२.३ प्रतिशत काम पुरा भइसकेको छ । ‘अबको १७.७ प्रतिशत काम हामी २०७५ असारसम्ममा पुरा गरेर विजुली बाल्छौं’, उनले भने, ‘भूकम्प र नाकाबन्दीले लागत बढेपनि यो आयोजना निर्माण सकेर देशलाई लोडसेडिङ मुक्त गराउँछौं ।’
आयोजनाका अनुसार हालसम्म ८२.३ प्रतिशत काम सकिँदा ३१ अर्ब ८४ करोड रुपैयाँ खर्च भइसकेको छ । ३५ अर्ब २९ करोड लागत अनुमान गरिएको यो आयोजना भूकम्प र नाकाबन्दीले महंगो हुन गएको छ । निर्माण शुरु गर्दा र अहिलेको बिनिमय दर धेरै फरक भएकाले पनि आयोजनाको लागत बढेको हो ।
