काठमाडौं, २३ कार्तिक । काठमाडौं–तराई–मधेस दूर्तमार्ग ‘फास्टट्रयाक’ आयोजनाको चर्चा धेरै तर प्रगति न्यून देखिएको छ । यो योजनाको लागि सरकारले बजेट विनियोजन गर्न थालेको लगातार आठ वर्ष पूरा भएपनि त्यसको हुनुपर्ने उपलव्धी भएको छैन ।

fast_track-620x365-620x330आयोजना निर्माणको काम अझै सुरु भएको छैन । अहिलेसम्म आयोजनाको काम ‘पूर्वतयारीमा’ सीमित छ । आर्थिक वर्ष ०६४/६५ मा सुरु भई ०७५ मा सम्पन्न हुने अनुमान गरिएको आयोजना कहिले सुरु गर्ने भन्ने अन्योलमा छ ।

काठमाडौं–तराई–मधेस फास्टट्र्याक सडक आयोजनाका प्रमुख सत्येन्द्र शाक्यले निर्माण कहिले सुरु गर्ने भन्ने विषय सरकारमा निर्भर रहेको बताए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक भने आयोजनाको अध्ययन भइरहेको र चाँडै नै सरकारले उपयुक्त निर्णय लिने जानकारी दिए । योजनाअनुसार काम भएको भए आगामी दुई वर्षभित्र आयोजना सम्पन्न हुने थियो । तर, चर्चा र पक्ष–विपक्षमा बहस भए पनि काममा प्रगति न्यून छ । आयोजनाप्रमुख शाक्यका

अनुसार पूर्वतयारीदेखि आयोजना सम्पन्न गर्नेसम्मको कामलाई सतप्रतिशत मान्ने हो भने अहिलेसम्म पाँच प्रतिशत काम भएको छ । यो आयोजना निर्माणको कुल लागत १ सय २९ अर्ब रुपैयाँ छ । जसमध्ये १ सय ११ अर्ब ९० करोड रुपैयाँ मात्र खर्च हुने आइएल एन्ड एफएसले तयार गरेको विस्तृत आयोजना प्रतिवेदनले देखाएको छ ।

चालू आव ०७३/७४ को बजेटमा फास्टट्र्याक निर्माण गर्न १० अर्ब रुपैयाँ छुट्याइएको छ । एकै आर्थिक वर्षमा आयोजनाका लागि छुट्याएको यो सबैभन्दा ठूलो रकम हो । यसअघि आव ०६९ /७० मा ८१ करोड रुपैयाँ विनियोजन भएको थियो भने ०७१/ ७२ मा ९९ लाख रुपैयाँ मात्रै छुट्याइएको थियो ।