सुर्खेत, २३ कार्तिक । कर्णालीको भाग्यरेखाको रुपमा रहेको कर्णाली राजमार्ग अहिले कर्णालीवासीका लागि सास्ती भएको छ । विभिन्न क्षेत्रमा विग्रीएको राजमार्ग समयमा मर्मत नहुँदा सास्ती वेहोर्नुपरेको हो ।

road-at-jumla-581ff9df3dc8a5-68268298अहिले यो राजमार्गमा यात्रा गर्नेहरु विचविचमा आफै गाडी धकेलेर गन्तव्यमा पुग्नुपर्ने वाध्यता छ । कर्णालीको भाग्यरेखा मानिएको यो राजमार्गमा गाडी सञ्चालन भएको एक दशक बितेको छ । सुर्खेतदेखि जुम्ला जोड्ने २ सय ३२ किलोमिटर लामो कर्णाली राजमार्गले पछिल्लो सयम यात्रुलाई सुविधाभन्दा बढी सास्ती दिएको छ । लामो समयदेखि मर्मत तथा सुधार नहुँदा हिजोआज राजमार्गको धेरै स्थानमा कालोपत्रेसमेत भत्किसकेको छ ।

२०६३ वैशाकमा ट्रयाक खोलेर सञ्चालनमा आएको यो राजमार्गमा अहिले अधिकांश स्थानमा सडक भत्काएको छ । एक दर्जनभन्दा बढी खोलामा पुल छैनन् । तर, राजमार्गमा जबरजजस्ती सवारी साधन सञ्चालन गरिएको छ । सडकमा रहेका ठूल्ठूला खाल्डा, हिलाम्य सडक र साँघुरो बाटोमा यात्रा गर्नुपर्ने बाध्यताले कर्णालीवासी हैरान भएका छन् । राजमार्गको कालीकोट खण्डमा सबैभन्दा बढी समस्या छ ।

लामो समयसम्म पनि सडकको स्तरोन्नति र मर्मतको काम नहुँदा सुर्खेतदेखि जुम्ला पुग्न सवारी साधनलाई पूरै एक दिन लाग्छ । साँघुरो र भत्किएको सडकमा गाडी फस्ने समस्याका कारण जाम हुँदा यात्रुले बीचबाटोमै घन्टौ भोकभोकै बस्नुपर्ने समस्या झेल्दै आएका छन् ।

यो समस्या त छदै थियो तर राजमार्ग सुधार नहुँदा सवारी दुर्घटनाको जोखिम समेत बढेको छ । सुरक्षित गन्तव्यमा पुग्न आफूहरूले गाडीमा यात्रा गर्दा देउता भाकल गर्ने गरेको जुम्ला तातोपानीका बिर्ख बुढा बताउछन् । ‘सडक खराव छ, भगवानको भरोसामा यात्रा गर्नुपर्छ, मरे गयो बाँचे धन्य भगवान भन्नु वाहेक केही छैन’, उनले भने ।