काठमाडौं , २३ कार्तिक । स्वास्थ्य मन्त्रालयको चिकित्सा सेवा महाशाखाले मिर्गौलाका बिरामीहरुका लागि आवश्यकता अनुसारको डायलोसिस निःशुल्क गर्न सम्बन्धित अस्पतालहरुलाई परिपत्र गरेको छ ।

swasthyamantriयसअघि हप्तामा दुई पटक मात्रै निःशुल्क डायलोसिसको व्यवस्था गरिएकोमा स्वास्थ्यमन्त्री गगन थापाको निर्देशनमा आवश्यकता अनुसार सबै डायलोसिस निःशुल्क गर्न लागिएको हो ।

विरामीले मिर्गौला प्रत्यारोपण नगर्दासम्म हप्तामा तीन पटक सम्म डायलोसिस गर्नुपर्ने मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा। पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।

डायलोसिस गर्दा हरेक पटक २५ सय रुपैयाँ लाग्छ । यही सेवालाई मन्त्रालयले निःशुल्क गरेको हो । प्रधानमन्त्रीको घोषणा, सरकारको चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम र स्वास्थ्य मन्त्रालयको निर्णय समेतबाट सम्पूर्ण डायलोसिस निःशुल्क भएको हो ।

नेपालमा अहिले मानव अंग प्रत्यारोपण केन्द्र र किड्नी सेन्टरसहित ३२ अस्पतालहरुमा निःशुल्क डायलोसिसको व्यवस्था छ । यी मध्ये चार अञ्चल अस्पताल छन् भने वाँकी अञ्चल अस्पतालहरुमा पनि मन्त्रालयले निःशुल्क डायलोसिस सेवा सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ ।

स्वास्थ्य मन्त्री थापाले पदवहाली लगत्तै ६ महिना भित्र सवै अञ्चल अस्पतालहरुमा निःशुल्क डायलोसिसको व्यवस्था गर्ने घोषणा गरेका थिए ।
अनलाइनखबरबाट