दीपबहादुर घर्ती
जाजरकोट, २३ कार्तिक । जिल्लामा रहेको राष्ट्रिय गौरवको नलसिङ गाड जलविद्युत आयोजनालाई लगानीवोर्डमा लिनु पर्ने उर्जा मन्त्री जनार्दन शर्माले वताएका छन् । जनताको अग्र्राधिकारलाई आयोजनामा सुनिश्चित गर्न उर्जा मन्त्रीले यस्तो मोडेल प्रस्तुत गरेका हुन् ।

nalsing-gadनलसिङ गाड जलविद्युत आयोजनाले आईतवार खगेनकोटको दल्लीमा आयोजना गरेको एक कार्यक्रमलाई सम्वोधन गर्दै उर्जा मन्त्री जनार्दन शर्माले भने–“जलविद्युत आयोजनालाई कर्मचारी भर्ति गर्ने भर्तिकेन्द्र वनाईनु हुदैन् ।” यो आयोजना कोहि कसैको नभएर जनताको आयोजना भएको हुदा जनताकै लगानीमा आयोजनाको निर्माण कार्य सम्पन्न गर्नु पर्ने मन्त्री शर्माले जिक्किर गरे । आयोजनामा जनताको अग्राधिकार हुनु पर्ने वताउदै मन्त्री शर्माले भने–“नलसिङ गाड जस्तो राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि नेपाल सरकार र जनताको लगानी मात्रले नपुग्ने र अन्य वहँु राष्ट्रिय कम्पनीहरुको पनि आवश्यक पर्ने भएको हुदा लगानी वोर्डद्धारा निर्माण गर्नु पर्दछ ।”

जलासययुक्त नलसिङ गाड जलविद्युत आयोजनाको आयोजना विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माण गरेको पाँच बर्ष भित्र आयोजनाको निर्माण कार्य पुरा गरिसक्ने मन्त्री शर्माले वताए । परामर्शदाता कम्पनीद्धारा निर्माण गरिने आयोजना विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)को काम र आयोजना विकास समितिद्धारा गर्नु पर्ने अन्य काममा गति दिनका लागि आयोजनाको हेड अफिस काठमाण्डौंमा नभएर जिल्लामै हुनु पर्ने मन्त्री शर्माले वताए । काठमाण्डौंको नयाँबानेश्वर रहेको हेड अफिसलाई १५ दिन भित्रै जिल्लामा स्थापना गर्न मन्त्री शर्माले विकास समितिका अध्यक्ष र कार्यकारी निर्देशकलाई निर्देशन गरे ।

आयोजनाको पावर हाउस देखि ड्याम स्थल (कालीमाटी देखि लैखम) सम्मको १०.८ किलोमिटर पहँुच मार्गको निर्माण कार्यवाट लह, सक्ला, नायकवाडा, रोकायगाउँ र रामीडाँडाका नागरिकहरुमा पर्न गएको असुविधा प्रति क्षमा याचना गर्दै मन्त्री शर्माले तत्काल वैकल्पिक ( कालिमाटी–खानटाकुरा हुदै ध्यापाटाकुरा जोड्ने ) मार्गको निर्माण कार्य अगाडि वढाउन विकास समितिलाई मन्त्रीले निर्देशन गरे । त्यसैगरि मन्त्री शर्माले आयोजनाको कार्यालय परियोजनका लागि भवन निर्माण गर्ने जिम्मा लिएको निर्माण कम्पनीलाई तत्काल भवन निर्माणको काम सम्पन्न गर्न निर्देशन दिए ।

देशकै ९३ वटा जलासययुक्त जलविद्युत आयोजनाहरु मध्येकै नलसिङ गाड जलविद्युत आयोजना उत्कृष्ट आयोजना भएको आयोजनाका कार्यकारी निर्देशक मोतिबहादुर कँवरले वताए । सन् २०१२ को प्रारम्भिक अध्ययन अनुसार नलसिङ गाड जलविद्युत आयोजनाको विद्युत क्षमता ४ सय १० मेगावाट भएको वताईएको छ । आयोजनाको निर्माण कार्य पुरा गर्नलाई ७३ अरब ७३ करोड ९० लाख रुपैयाको लागत लाग्ने अनुमान गरिएको छ ।