तुलसीपुर २० कात्तिक । एक्लै २ किलोमिटर सडक निर्माण गर्ने ७२ बर्षका चन्द्रविर वलीलाई ३० हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ । राप्रपा नेपालका केन्द्रिय सदस्य अन्जना शाह, रावलको पहलमा लण्डनमा बस्ने कृष्ण प्रसाद शर्माबाट प्राप्त आर्थिक रकम दाङको तुलसीपुर नगरपालीका १ परेखोलामा बस्दै आएका वलीको घरमा पुगेर प्रदान गरिएको हो ।
वृद्ध वलीले एकबर्ष भन्दा बढी समय लगाएर भिरालो जमिनमा बाटो निर्माण गरेको समाचार लेखेर पहिलो पटक सार्वजनिक गरेका पत्रकार ओपेन्द्र बस्नेतले शनिबार विहान वलीको घरमै पुगेर हस्तान्तरण गरेका हुन् ।
पहिलो पटक यती ठूलो रकम प्राप्त गरेको भन्दै वृद्ध वलीले खुशी व्यक्त गरे । ‘घरको आँगनमा एकाविहानै हजारहजारका नोट पाउँदा भगवानले दिएको जस्तो लागेको छ’, ‘वलीले भने दिने मान्छे मेरा लागि भगवानै हुन् ।’ आफुले पैसा पाउनका लाग बाटो नखनेको बताउदै वलीले विभिन्न ठाउँबाट सहयोग पाउन लागे पछि आश्चर्यमा परेको बताए ।
दृष्टिविहिन छोरा र श्रीमतिहरु भिरबाट खस्ने डरले बाटो खनेको बताउदै सबैले सहयोग गर्न थालेपछि आत्मबल बढेको उनले बताए । बिभिन्न ठाउबाट प्राप्त भएको रकमले छोराछोरीलाई पाल्न सजिलो हुने उनको भनाई छ ।
जीवनमा पहिलो पटक भारतबाट कमाई गरी ल्याएको १६ हजार रुपैयाँले आफु बस्ने घर बनाएको भन्दै बिभिन्न ब्यक्ति तथा संस्थाबाट प्राप्त गरेको रकमले जस्तापाताको छानो हाल्ने उनले बताए ।
विगत लामो समय देखि विभिन्न व्यक्तिलाई सहयोग गर्दै आएकी अन्जना शाह,रावलले यति ठूलो महान काम गर्ने व्यक्तिलाई सरकारी स्तरबाट सहयोग नभएकाले आफुले सहयोग गरेको बताइन् ।
वलीले दुई किलोमिटर बाटो एक्लै निर्माण गरेको बिभिन्न संचारमाध्याममा आएपछि वलीलाई विभिन्न संघसंस्थाको पहलमा घरमा सोलार जडान देखि लत्ताकपडा, दालचामल र १० हजार नगद समेत प्राप्त भएको छ ।
