काठमाडौं, १९ कार्तिक । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतलाई चीनसँग प्रतिस्पर्धा नगर्न सुझाव दिएका छन् । आफूले यो सुझाव नेपालका पूर्वप्रधानमन्त्रीको हैसियतमा नभई ‘जेएनयू एलुम्नाई’को हैसियतमा दिएको डा. भट्टराईले बताए ।
इण्डिया फाउन्डेसनले राजधानीमा गरेको सम्मेलन अन्तरगत ‘भू-राजनीतिक आवश्यकताः नेपालको छिमेकी देशहरुसँगको सम्वन्ध’ विषयक छलफलको अध्यक्षता डा. भट्टराईले गरेका थिए ।
नयाँ शक्ति नेपालका संयोजकसमेत रहेका भट्टराईले नेपालका लागि भारतको विकल्प चीन हुन नसक्ने बताए । तर, नेपालले भारतबाट आफ्नो राजनीतिक सार्वभौमिकताको सम्मान चाहेको बताए ।
नेपाल अहिलेसम्म कसैको उपनिवेश नभएको भन्दै उनले भने, हामी भारतीय चासोहरुलाई सम्बोधन गर्छौं । तर, हाम्रो राजनीतिक सार्वभौमिकताको सम्मान गर्नुपर्छ ।’
नेपालमा चीनको चासो तिब्बतीको गतिविधि भएको भन्दै उनले त्यसलाई नेपालले सम्बोधन गरिसकेको बताए । पूर्वप्रधानमन्त्री डा. भट्टराईले भने, नेपालले एक चीन नीतिप्रति प्रतिवद्धता जनाउँदै आएको छ । र, -नेपालमा) उनीहरुको थप चासो छैन ।’
डा. भट्टराईले भारतलाई चीनसँग प्रतिस्पर्धा नगर्न सुझाए । भारत शक्तिशाली मुलुक बन्दै गए पनि अझै चीन अगाडि रहेको भन्दै डा. भट्टराईले भने, यदि भारत चीनभन्दा अगाडि जाने हो भने अहिले प्रतिस्पर्धा गर्ने होइन । आफूलाई बलियो बनाउन सहकार्य गर्नुपर्छ ।’
उनले अघि भने, प्रतिस्पर्धा गर्ने हो भने यो सही समय होइन ।’ चीन र भारतले प्रतिस्पर्धा गरे त्यसको असार छिमेकी देशहरुका साथै नेपालमा पनि असर पर्ने उनले बताए ।
अनलाइन खबरबाट
