काठमाडौं, १८ कार्तिक । न्याय परिषदले लामो समयपछि पूर्णता पाएको छ । संसदीय सुनुवाई विशेष समितिले सरकारका तर्फबाट सिफारिस गरेका अधिवक्ता पदमप्रसाद वैद्धिकको नाम अनुमोदन गरेसँगै पाँच सदस्यीय न्याय परिषद्ले पूर्णता पाएको हो ।
बिहीबार बसेको सुनुवाई समितिको बैठकले न्यायपरिषद् सदस्यमा वैद्धिकको नाम सर्वसहमतिले अनुमोदन गरेको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिनुभयो । सरकारले असोज २० गते उहाँलाई परिषद् सदस्यमा सिफारिस गरेको थियो ।
अधिवक्ता वैद्धिकविरुद्ध सुनुवाई समितिमा एउटा पनि उजुरी परेको थिएन । न्याय परिषद् अध्यक्ष प्रधानन्यायाधीश र सदस्यहरु कानुन मन्त्री, वरिष्ठतम न्यायाधीश, सरकार र नेपाल बारको प्रतिनिधि हुने संवैधानिक व्यवस्था छ ।
