सुनिता पहरी
अमेरिका, १८ कार्तिक अमेरिकामा राष्ट्रपतीय चुनाव आउन एक हप्ता पनि बाँकी नरहेका बेला राष्ट्रपतिका उम्मेदवार डेमोक्रेटिक पार्टीकी हिलरी क्लिन्टन र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा हुने सर्वेक्षणले देखाएको छ । न्युयोर्क टाइम्स र सिबीएस न्युजले गरेको सर्वेक्षणमा क्लिन्टन ट्रम्पभन्दा तीन अंकले अघि देखिएपनि एलए टाइम्स र युएससीले गरेको सर्वेक्षणको पछिल्लो नतिजाअनुसार ट्रम्प पाँच अंकले अघि छन् । यसअघि एबीसी र वासिङटन पोस्टले गरेको सर्वेक्षणमा पनि ट्रम्प हिलरीभन्दा एक अंकले अघि थिए । चुनाव आउन ११ दिनअघि संघीय जाचब्यूरो एफबीआइले हिलरीको इमेल प्रकरणबारे छानबिन गर्ने बताएपछि उनको चुनावी अभियानमा पनि प्रभाव देखिएको अनुमान गरिएको छ ।
इमर्सन कलेजका कम्युनिकेशन स्टडिज विभाग प्रमुख डा. ग्रेगरी पेन एफबीआइले इमेल प्रकरणबारे सुरु गरेको छानबिनले खासै असर नपर्ने बताउनुहुन्छ । धेरै मतदाताले आफ्ना उम्मेदवारबारे विचार बनाइसकेकाले चुनावी सर्वेक्षणमा अघि पछि देखिए पनि यसले चुनावलाई नै असर भने नपार्ने उहाँको ठम्याई छ । तर स्वतन्त्र र तटस्थ मतदातमा भने प्रभाव रहने अनुमान उहाँ गर्नुहुन्छ ।
तर पछिल्लो सर्वेक्षणका अनुसार गएको सेप्टेम्बर यता हिलरीको समर्थकमध्ये भोट हाल्न निकै उत्सुक रहेको बताउने संख्या तटस्थ अर्थात ४७ प्रतिशतको हाराहारीमा छ भने केही हप्तायता ट्रम्पका समर्थकबीच भोट हाल्न अति इच्छुक रहेका मतदाता बढेर ५२ प्रतिशत पुगेको छ । यसले पनि चुनावको नतिजामा असर पर्न सक्ने न्युयोर्क टाइम्सले जनाएको छ ।
अमेरिकाको ५० वटै राज्यमा ५ सय ३८ इलेक्टोरल भोट रहेकोमा राष्ट्रपतीय पदमा निर्वाचित हुन २ सय ७० मत आवश्यक हुन्छ । दुवै पार्टीका लागि ११ वटा स्वीड राज्य ओहायो, फ्लोरिडा, नर्थक्यारोलिना, पेन्सिलभेनिया, कोलोराडो, भर्जिनिया, एरिजोनालगायत राज्यको इलेक्टोरल भोटको निकै जरुरी छ । तर सर्वेक्षणले ओहायो, आयोवा, फ्लोरिडा र नर्थ क्यारोलिनामा टम्प अघि बढेको र झण्डै २ सय ५९ मतल्याउने देखाएपछि हिलरीले चुनावी अभियान अझ सशक्त बनाउँदै लगेकी छिन् । राष्ट्रपति बाराक ओबामा, प्रथम महिला मिसेल ओबामालगायत पार्टीले नै उनको समर्थनमा अभियान अझ सशक्त रुपमा अघि बढाएका छन् ।
यस्तै, हिलरीको इमेल काण्ड र एफबीआइले सुरु गरेको अनुसन्धानको विषय ट्रम्पका लागि मतदाता आफूतिर आकर्षित गर्ने रणनीति बनेको छ ।
इमेल प्रकरण जसले हिलरीको चुनावी अभियानमा प्रभाव पार्यो
हिलरी क्लीन्टनले विदेशमन्त्री रहँदा सरकारी इमेलमा आएका सूचना व्यक्तिगत इमेलबाट आदानप्रदान गरेकी थिइन् । सन् २००९ देखि १०१३ को बीचमा व्यक्तिगत इमेल प्रयोग गरी सूचना आदानप्रदान गरेको पुष्टि भएपछि क्लीन्टनले नियतवस नभइ अन्जानमा गल्ती भएको स्वीकार गरेकी थिइन् ।
एफबीआइले पनि उनको यो गतिविधि आपराधिक नभएको ठहर गर्दै सफाइ दिएको थियो । तर पछिल्लो समय केहि दिन पहिले पूर्व कंग्रेस सदस्य एनथेँनी वेइनरको इमेलमा पनि हिलरीले पठाएका इमेल फेला परेकाले त्यसबारे एफबीआइले अनुसन्धान गर्ने बताएको हो । अमेरिकी इतिहासमा राष्ट्रपतिका उम्मेदवारमाथि चुनावको अन्तिम समयमा एफबीआइले अनुसन्धान सुरु गरेको यो नै पहिलो घटना हो ।
उज्यालो अनलाइन बाट
