
दिपक बोहरा , तुलसीपुर ९ कात्तिक । तुलसीपुर नगरपालिका भित्र नियम बिपरित लघुबित्त कार्यक्रम संचालन हुने क्रम बढ्दै गएको छ । अहिले तुलसीपुरमा आठवटा संस्थाले लघुबित्त कार्यक्रम संचालन गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले एउटा नगरपालिका वा गाबिसमा पाँचवटा भन्दा बढी संस्थालाई लघुबित्त कार्यक्रम संचालन गर्न नदिने नियम बनाएको छ । जसअनुसार गाविस वा नगरपालका भित्र पाँच वटाभन्दा बढी लघुवित्त कारोबारगर्ने संस्थालाई अनुमति दिने प्रावधान नै छैन । तर, त्यो नियम पालन गरिएको छैन् ।
अचम्मको कुरा के छ भने नियम बनाउने नेपाल राष्ट्र बैंकले नै त्यो नियम उलंघन गरेको छ । नेपाल राष्ट्र बैंकले तुलसीपुर नगरपालिका भित्र आठवटा संस्थालाई लघुबित्त कार्यक्रम संचालन गर्न अनुमति दिनुले त्यहि कुराको पुष्टि हुन्छ । वर्तमान खुल्ला बजार र प्रतिपर्धामा धेरै संस्था स्थापना हुनु सकारात्मक पक्ष मान्न सकिएला । तर, प्रचलित नियम विपरितका संस्थाहरु खुल्नुलाई भने सकारात्मक मान्न सकिदैन । कारण, धेरै बित्तिय संस्था एकै ठाँउमा स्थापन हुँदा त्यस्ले अस्वस्थ प्रतिस्पर्धा बढाउने जानकारहरु बताउँछन् । त्यस्तो अस्वस्थ प्रतिस्पर्धाले लघुवित्तको उद्देश्य पूरा नहुने बरु लगानी डुब्ने खतरा मात्रै बढ्ने् लघुबित्तकर्मी प्रेम बुढाको बुझाई छ ।
अहिले तुलसीपुरमा नेपाल स्वाबलम्ब लघुबित्त बैंक , छिमेकी लघुबित्त बैक, निर्धन उत्थान बैक, नेपाल ग्रामिण बिकास बैंक , सुयर लघुबित्त कार्यक्रम, ग्रामिण महिला उत्थान केन्द्र , नेपाल महिला सामुदायीक सेवा , बिजौरी लक्ष्मी लघुबित्त बित्तिय संस्थाले बित्तिय कार्यक्रम संचालन गरिरहेका छन् । अझै पनि तुलसीपुरमा लघुबित्त खुल्नेक्रम जारी नै छ । एकै ठाँउमा धेरै बित्तिय कार्यक्रम संचालन हुनुले एउटै ब्यक्तिले धेरै संस्थामा सदस्यता लिने गरेको प्रमाणहरु फेलापरेका छन् । राष्ट्र बैंकको नियमअनुसार एकजनालाई एउटा मात्र लघुवित्तले सदस्य बनाउन पाउने प्राबधान रहेको छ । तर, एकै जनाले धेरै बित्तिय संस्थाको सदस्य बन्ने गरेकोपछि बित्तिय क्षेत्रमा बिकृति फैलिएको लघुबित्तकर्मी बुढाले बताए ।
एउटै व्यक्तिलाई चारवटासम्म संस्थाले सदस्य बनाएका उदाहरणहरु प्रसस्तै छन् । तरपनि सम्बन्धित निकायले त्यस्को अनुगमण गर्ने र कारबाही गरेको उदाहरण छैन । एकै ठाउमा धेरै बित्तिय कार्यक्रम संचालन हुदा सबै क्षेत्रमा बित्तिय पहुँच पुग्न नसक्ने भएकाले नेपाल राष्ट्र बैंकले निश्चित दायरा निर्धारण गेको हो । तरपनि, दाङका अधिकांस ग्रामिण क्षेत्रमा बित्तिय कार्यक्रम पुग्न सकेको छैन् । सबै वित्तिय कार्यक्रम शहर बजार केन्द्रित बनेका छन् । दाङमा सञ्चालनमा रहेका मध्ये अधिकांश लघुवित्तले कार्यक्षेत्रका रूपमा सदरमुकाम र त्यो आसपासका गाविसलाई मात्रै लिएका छन् ।
दुर्गम गाविसहरूमा गएर त्यहाँ सेवा विस्तारमा चासो दिएका छैनन् । जसले गर्दा ग्रामिण भेगका सर्वसाधरण उपभोक्ता बजार नै धाउनुपर्ने बाध्यता छ । जव सम्म वित्तिय संस्था ग्रामिण भेगमा विस्तार गरिदैनन् तव सम्म त्यसको उदेश्य समेत पुरा हुन सक्ने अवस्था रहँदैन । राप्ती समाचार











