d5510dbbdcd16a41bbf961bc66428148काठमाडौँ, कात्तिक ९ गते ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध सर्वसाधरणसमेतले महाभियोग सिफारिस समितिमा उजुरी दिन पाउने भएका छन् ।   समितिको कार्यविधि तय गर्दै सिफारिस समिति मातहतको उपसमितिले कार्कीका काम कारबाहीविरुद्ध सर्वसाधरणले पनि उजुरी दिनसक्ने व्यवस्था गरेको हो ।  तर, सर्वसाधरणले उजुरी दिन पाउने व्यवस्था उपसमितिले कार्यविधिमा राखे पनि उजुरी दर्ताअघि कम्तीमा तीन जना सांसदले प्रमाणित गर्नुपर्नेछ ।

उपसमितिले कार्यविधिलाई करिब अन्तिम रूप दिएको छ ।  मङ्गलबार दिउँसो बस्ने बैठकले मात्र कार्यविधिबारे अन्तिम निर्णय गर्नेछ ।  उपसमितिको प्रतिपेदन समितिमा पेस भई पारित भएपछि कार्यान्वयनमा आउनेछ ।  उपसमिति सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका संसदीय दलका प्रमुख सचेतक दिलनाथ गिरीले उपसमितिले सर्वसाधरणले उजुरी दिन सक्ने व्यवस्था गरेको जानकारी दिनुभयो ।  उजुरीकर्ता सर्वसाधरणलाई समितिले आवश्यक परे थप प्रमाणसमेत माग्न सक्नेछ ।

संसद्को कार्यसञ्चालन नियमावलीले नै समितिको धेरै कार्यविधि तय गरेको छ ।  नियमावलीले आरोपितलाई सफाइको मौका दिनुपर्ने समयसीमा, काम सुरु गरेपछि प्रतिवेदन दिने समय, विज्ञसँग राय लिन सक्ने व्यवस्था नियमावलीमा नै गरेको छ ।  अन्य समितिको हकमा यस्ता प्राविधिक विषय कार्यविधिले नै तय गर्ने गरेको छ ।

समितिमा महाअभियोग दर्ताका हस्ताक्षरकर्ता नै समितिमा रहेको लगायतका प्राविधिक प्रश्न पनि उपसमितिको बैठकमा उठेका छन् ।  हस्ताक्षरकर्ता समितिमा रहेको प्रश्न उपसमिति बैठकमा हस्ताक्षरकर्ता सांसद नै सिफारिस समितिमा भएको भन्ने प्रश्न उठेको छ ।  अभियोग लगाउने सांसद नै सदस्य भएपछि आरोपितले न्याय पाउँछन् वा पाउँदैनन् भन्नेमा प्रश्न उठेको हो ।  ११ सदस्यीय महाभियोग सिफारिस समितिमा प्रतिनिधित्व गर्ने सदस्यमध्ये काँग्रेसका चार सदस्यले हस्ताक्षर गरेका छैनन् ।

यस्तै राप्रपा नेपालका गिरीले पनि हस्ताक्षर गर्नुभएको छैन ।  समितिमा रहेका माओवादी केन्द्रका दुवै सदस्यले हस्ताक्षर गर्नुभएको छ भने, एमालेका चारै सदस्यले नै हस्ताक्षर गर्नुभएको छ ।  यस्तै, सर्वोच्चमा विचराधीन कार्कीको योग्यतासम्बन्धी मुद्दामा पक्ष भई वकालत गरेका माओवादी केन्द्रका सांसद रामनारायण बिडारी पनि समितिमा सदस्य हुनुहुन्छ ।  संसद्को नियमावलीको नियम २३३ (ज) मा कुनै स्वार्थ जोडिने विषय आफूले प्रतिनिधित्व गर्ने समितिमा भए सोको जानकारी सदस्यले दिनुपर्ने व्यवस्था छ ।