education-canter

काठमाडौँ, ९ कात्तिक  ।  आगामी पाँच वर्षमा नेपालको साक्षरता दर ८७ प्रतिशतमा पु¥याउने गरी शिक्षा मन्त्रालयले सोमबारबाट नयाँ योजना लागू गरेको छ ।   सन् २०१६ देखि २०२२ सम्मका लागि तयार गरिएको विद्यालय क्षेत्र विकास योजना (एसएसडीपी)लाई सोमबार शिक्षामन्त्री डीआर पौडेलले स्वीकृति प्रदान गर्नुभएको छ ।

लागू गरिएको योजनाले आगामी पाँच वर्षमा छ वर्ष उमेर समूहको साक्षरता प्रतिशत ८७, १५ देखि २४ उमेर समूहको साक्षरता प्रतिशत ९५ र १५ वर्षभन्दामाथिको साक्षरता प्रतिशत ७५ पु¥याउने लक्ष्य लिएको छ ।  पाँच वर्षअघिको राष्ट्रिय जनगणनाले नेपालको साक्षरता करिब ६७ प्रतिशत रहेको देखाएको छ भने गत सन् २००० मै सरकारले २०१५ सम्ममा सबैलाई साक्षर तुल्याउने प्रतिबद्धता व्यक्त गरेको थियो ।

मन्त्रालयका उपसचिव दीपक शर्माले योजना लागू भएपछि सङ्घीयताका सन्दर्भमा अब शिक्षा क्षेत्रलाई बाटो सहज बनेको बताउँदै भन्नुभयो, “अब नतिजाका आधारमा दातृ निकायले रकम दिनेछ । ”

यसअघि दातृ निकायले उपलब्ध गराएको रकम खर्च गरी नतिजाका लागि कार्य गरिन्थ्यो ।  शिक्षा क्षेत्रमा आगामी पाँच वर्षका लागि करिब छ खर्ब ९१ अर्ब ३२ करोड रुपियाँ खर्च गरिनेछ ।  त्यसको ८८.८ प्रतिशत नेपाल सरकारकै लगानी हुनेछ भने दातृ निकायले ६.८ प्रतिशत उपलब्ध गराउनेछ भने अझै ४.४ प्रतिशत स्रोतको खोजी जारी छ ।