mangoliyan-force1रोल्पा ९ कात्तिक ।  राष्ट्रिय मुलवासी मंगोलियन फोर्स नेपाल नामक भूमिगत समूहका कार्यकर्तालाई प्रहरीले हतियार सहित पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । पूर्वी रोल्पाको स्युरी गाविसमा हातहतियार सहित विभिन्न गतिविधिहरु गरिरहेको भन्ने विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीमगरको नेतृत्वमा गएको प्रहरी टोलीले उनीहरुलाई शनिवार पक्राउ गरेको थियो ।

प्रहरीले स्युरी गाविस–८ का ३० वर्षका राम बहादुर बुढामगर, स्युरी गाविस–९ का ३२ वर्षका चन्द्र बहादुर घर्ती मगर, स्युरी गाविस–८ का ३२ वर्षका लोक बहादुर बुढा मगर, स्युरी गाविस–७ का ३१ वर्षका जोख बहादुर घर्ती मगर, र स्युरी गाविस–१ का २१ वर्षका दुजमान घर्ती मगरलाई हतियार सहित कार्तिक ८ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

उनीहरुको साथबाट भरुवा वन्दुक ८ थान, भरुवा वन्दुकको नाल १ थान, कम्व्याड ड्रेस ५ थान, पार्टीको झण्डा ३ थान, खुकुरी १ थान, वारुद २ सय ग्राम, गोली २२ थान, सिसाको छर्रा १ सय १८ थान, पेट्रोल २ लिटर, स्लिपिङ ब्याग २ थान, कम्व्याड झोला १ थान र प्राथमिक उपचारका सामानहरु रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक केशव वस्नेतले जानकारी दिए ।

कार्तिक ६ गते राम बहादुर बुढा मगरको घर खानतलासी गर्दा घरको सुत्ने कोठामा उक्त हतियार र त्यसका सामाग्रीहरु फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला अदालत रोल्पाबाट हातहतियार तथा खरखजना सम्बन्धी  मुद्दामा ६ दिन म्याद थप लिई अनुसन्धान भैरहेको डिएसपी रामप्रसाद घर्तीले बताए ।
सो समूहमा रहेका अन्य केही भागेको हुदा प्रहरीले खोजतलास गरिरहेको प्रहरीले वताएको छ ।

मगर भाषा लिपीको संरक्षण गर्नुपर्छ भन्दै आफुलाई रुकुम घर बताउने मानिसहरुले लगेर केही समय तालिम पनि दिए पछि आफुहरु यो समूहमा संलग्न भएको पक्राउ परेका रामवहादुर वुढामगरले बताए । तालिम पश्चात गत भादौमा रोल्पाको स्युरी प्रहरी चौकी कव्जा गर्ने योजना सहित आफुहरु चौकी आक्रमण गर्न आएको भए पनि हतियारले काम नगरेका कारण योजना असफल भएको र पछि समूहभित्रको अन्तरद्वन्द्वले आफुहरु पक्राउ परेको वुढाले बताए ।

फोर्समा रोल्पा रुकुम, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, पर्सा, झापा लगायतका जिल्लाका केही युवाहरु पनि संलग्न रहेको पनि बुढाले पत्रकार सम्मेलनमा बताए ।