काठमाडौ, ७ कार्तिक । व्यवस्थापिका संसद्को बैठक आज बस्दै छ । संसद बैठक आज बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ । बैठकमा अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव प्रस्तुत हुने छ ।

samsad-1024x597गत बुधबार साँझ संसद् सचिवालयमा दर्ता भएको सो प्रस्ताव प्रस्तुत हुने कार्यसुची रहेको संसद—सचिवालयले जनाएको छ । कार्की्विरुद्धको महाअभियोगको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची बिहीबारका लागि डाकिएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा सभामुख ओनसरी घर्तीले सूचना टाँस गर्दै आजसम्मका लागि स्थगित गरेका थिए । महाअभियोग लगाउन माग गर्दै एमाले र माओवादी केन्द्रका १ सय ५७ जना सांसदले संसद्मा सूचना दर्ता गराएका थिए ।

बैठकअघि दलहरुबीच महाअभियोग प्रस्तावबारे कुनै सहमति भएमा सूचीमा हेरफेर हुन सक्ने संभावना रहेको छ । संसदले महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाउनुपूर्व केही समय लिन सक्ने भएपनि सिफारिस समितिले कार्य प्रारम्भ गरेको ३० दिनभित्र सदनमा अनुसन्धान प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

आजको संसद बैठकमा महाअभियोगका बारेमा प्रस्ताव पेसभएपछि आजै अर्को बैठक बसेर छलफल गर्ने वा अन्यदिन छलफलका लागि समय तोक्ने विषयमा निर्णय हुने संसद सचिवालय सहप्रवक्ता सुर्दशन कुइकेलले जानकारी दिए ।