काठमाडौँ – नेपालको चिनारीको रुपमा स्थापित धरहरा पुनःनिर्माणका लागि जसरि प्रचार भएकोथियो त्यसरी निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन । नेपाली हरुको आफ्नै लगानी बाट बन्ने भनिएपनि धरहरा निर्माणका लागि प्रसस्त रकम पनि उठेको छैन ।

dharahara

प्रस्तावित अत्याधुनिक सुविधासहितको धरहरा पुनःनिर्माणका लागि तयार भएको डिजाइनबारे अझै पनि परिमार्जनकै चरणमा छ । धरहराको डिजाइन बनाएको केज कन्सल्टेन्ट एन्ड एमआरपी एसोसिएट्ससँग संस्कृति मन्त्रालयले अनुमानित लागतसहित विस्तृत स्ट्रक्चरल डिजाइन तयार गर्न लगाएको छ ।

कम्पनीका प्रवन्ध निर्देशक एवम् आर्किटेक्चर डिजाइनर विष्णु पन्थीले धरहराको स्ट्रक्चरल डिजाइनको काम भइरहेको जानकारी दिनुभयो । अनुमानित लागतसहितको विस्तृत डिजाइन निर्माण गरेर मन्त्रालयमा छिटै बुझाइने जानकारी उहाँले दिनुभयो । ठूलो परियोजना भएका कारण डिजाइन र लागत निकाल्न बढी समय लागेको जानकारी उहाँले दिनुभयो ।

धरहराको प्रस्तावित डिजाइन अनुसार भूकम्पका कारण भत्किएको धरहरालाई यथावत् रूपमा संरक्षण गरेर भूमिगत पार्किङ, सङ्ग्रहालय, बगैचासहितको क्षेत्र विस्तार गर्ने योजना मन्त्रालयले बनाएको छ । दुईवटा लिफ्ट सुविधासहित ११ तले धरहरा ठड्याउने योजना केपी ओली नेतृत्वको तत्कालीन सरकारले बनाएको थियो ।

सोही अनुरूपको डिजाइन तयार भए पनि उक्त डिजाइन मन्त्रिपरिषद्बाट भने अझै स्वीकृत भएको छैन । डिजाइनका बारेमा हालका मन्त्री पनि सकारात्मक हुनुभएकाले मन्त्रिपरिषद्बाट पास भएपछि काम सुरु हुने केज कन्सल्टेन्टले जानकारी दिएको छ ।