सुर्खेत, ४ कार्तिक । कर्णाली राजमार्गमा पुल बनाउने ठेकेदार वेपत्ता हुँदा सवारी साधानसँगै यात्रुले सास्ती व्यहोर्नु परेको छ । कर्णाली राजमार्गका ११ वटा पुलको काम तोकिएको समयमा निर्माण सम्पन्न हुन नसक्दा सवारी साधनसँगै यात्रुले सास्ती भोग्नु परेको हो । निर्माण सम्झौंता शुरु गरेको तीन वर्षदेखि ती पुल बनाउने ठेकेदार वेपत्ता छन् । पुलको काम ठेकेदारले समयमै अघि नबढाउँदा स्थानीयले सास्ती खेप्नु परेको छ । एउटै ठेकेदारले विभिन्न फर्मका नामबाट धेरै काम शुरु गरेर वषौंसम्म अलपत्र छाड्दा समस्या भएको छ ।

33333ठेक्का पाएजति सबै आफै लिने र कामदारको अभाव देखाउँदै वषौंसम्म अलपत्र पार्ने प्रक्रियाको अन्त्य हुनुपर्ने राष्ट्रिय उपभोक्ता मञ्चको माग छ । मञ्च सुर्खेतका कोषाध्यक्ष लक्ष्मी ओली बयकले फर्जी कागजात पेश गरेर ठेक्का हत्याउनेलाई सरकारले कारवाही नगर्दा यस्तो समस्या उत्पन्न भएको बताईन् । उनले सडकका कर्मचारीको मिलेमतोमा ठेकेदारले गर्ने बेइमानीको अन्त्यका लागि आम सर्वसाधारण समेत जागरुक हुन आवश्यक रहेको औल्याईन् ।

कर्णाली राजमार्गमा ६ वर्ष लगाएर एउटा पुल बन्नु बाहेक अन्य ११ वटा पुलको काम शुरु हुन सकेको छैन् । सुर्खेत–जुम्ला सडक कार्यालयले ती पक्की पुलको निर्माण ६० प्रतिशत सकिसकेकोे बताएपछि राष्ट्रिय उपभोक्ता मञ्चको ध्यान कर्णाली राजमार्गमा केन्द्रित भएको हो । काम नै शुरु नगरी ६० प्रतिशत काम सकिएको सार्वजनिक अभिव्यक्ति दिएपछि कार्यालयले कागजमै मात्र पुल बनाउन खोजेको भन्दै सर्वसाधारणले विरोध जनाएका हुन् । ठेक्का सम्झौता भएको २४ महिनामा सक्ने लक्ष्य राखिएका ती पुलको निर्माण तीन वर्ष वितिसक्दा समेत काम शुरु भएको छैन् । पुल बनाउने ठेकेदार कम्पनीले पुल बनाउन शुरु गर्नुअघि भएको राम्रो सडकलाई भत्काइदिएपछि वर्षामा बाढीका कारण आवतजावत गर्न नपाएको स्थानीयवासीको गुनासो छ । मध्य तथा सुदूरपश्चिमका ६ जिल्लाका जनता २० लाख भन्दा बढी जनताले यही राजमार्गमा ओहरो–दोहरो गर्छन् ।
ठेकेदार कम्पनीले वारम्वारको चेतावनीलाई समेत वेवास्ता गरेपछि प्रक्रिया नै रद्द गरेर नयाँ प्रक्रियामा जाने तयारी भएको सडक डिभिजन कार्यालय जुम्लाले बताएको छ । कार्यालयक अनुसार जुम्ला खण्डमा ६ वटा पुलको निमार्ण कार्य सन्तोषजनक छैन । ६ मध्ये ४ वटा पुलहरु ३ पटक म्याद थप्दा गर्दा समेत कामको गति अघि बढ्न सकेन् । जुम्लाखण्डमा एउटा पुल निर्माण ठेकेदारलाई व्लाकलिष्टमा हाल्ने तयारी रहेको छ ।

उता दैलेखखण्डमा निमार्णधिन ३ मध्ये २ वटा पुल निर्माण ठेकेदारलाई व्लाकलिष्टमा राखिएको छ । १५ महिनादेखि साढे ३ वर्षसम्म म्यादगुजे्रका निर्माण कम्पनीहरु धेरै छन् । ठेकेदारको चरम लापरबाहीका कारण पुल निर्माणमा ढिलासुस्ती भएको हुँदा निर्माणधिन कम्पनीहरुलाई पेश्की जफत, व्लाकलिष्ट र कारवाही गरिने सुर्खेतका डिभिजन प्रमुख बेलबहादुर भुजेल बताउँछन् । राजमार्गको स्तरोन्नतीका लागि आर्थिक वर्ष २०६९÷०७० देखि २०७२÷०७३ सम्म १ अर्ब ६९ करोड ४ लाख ४९ हजारको काम गरेको थियो ।

सवारी साधन बढे, सडक बढेन

मध्यपश्चिममा महामारीबाट हुने मृत्यु भन्दा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या धेरै रहेको छ । गत आव यसक्षेत्रमा २ सय ९४ वटा सवारी दुर्घटनामा परी दुई सय २८ जनाको मृत्यु तथा ३ सय १४ जना घाईते भएको मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । मध्यपश्चिमका डीआईजी माधवप्रसाद नेपालले गाडीको बढ्दो संख्याका साथै सडक छेउमै वस्ती विकाससँगै चालकले लापरवाही गर्दा दुर्घटना बढेको बताए ।  उनले भने, ‘अरु पूर्वाधार उस्तै हुँदा सवारी साधनको संख्या बढिरहेका छन, यस्तो अवस्थामा सवारी साधन चलाउँदा सचेत हुनैपर्छ ।’ मृत्यु जस्तो दुखद घटना एकातिर, अर्कोतिर दुर्घटनामा घाइते र अपाङ्ग हुनेले जीवनभर भोग्ने कष्ट त्यत्तिकै दुखद रहेको उनले बताए ।