दीपबहादुर घर्ती
जाजरकोट, ३० बैशाख ।
किसानहरुले लगाएको हिउदे वाली उत्पादनमा ६० प्रतिशत ह्रास आएपछि जाजरकोटलाइ खाद्य संटक जिल्ला घोषणाको माग गरिएको छ । जिल्ला सदरमुकाममा वसेको जिल्ला दैवी प्रकोप उद्धार समितिको वैठकले खाद्य संकट जिल्ला घोषणा गर्न माग गर्ने निर्णय गरेको हो ।
वैठकमा जिल्ला कृषि विकास कार्यालयले पेश गरेको तथ्याङकका आधारमा खाद्य संकट जिल्ला घोषणा गर्न कृषि विकास मन्त्रालय मार्फत नेपाल सरकार तथा मन्त्री परिषदलाई अनुरोध गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले वताउनुभयो ।
वैठकले जिल्लाको खाद्य संवेदनशिलतालाई ध्यानमा राखी सव सिडी मुल्य निर्धारण गरी सहुलियत दरमा खाद्यन्न उपलव्ध गराउन खाद्य संस्थान र आपूर्ति मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष समेत रहेका प्रजिअ गौतमले जानकारी दिनुभयो । जिल्लामा देखा परेको विकराल भोकमारीको समस्यालाई समधान गर्न कामको लागी खाद्यान्न कार्यक्रम सञ्चालन गर्न संघीय मामिला तथा स्थानिय विकास मन्त्रालय र विश्व खाद्य कार्यक्रमलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।
यस वर्ष लामो समयको खडेरी मौसमका कारण जिल्लाका २६ वटै गाविस र एक नगरपालीकामा हिउदे अन्न वाली उत्पादनमा ६० दशमलव ५ प्रतिशत ह्रास आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । खडेरीका कारण उत्दानमा ह्रास आई जिल्लाका २७ हजार एक सय ९६ किसान घरधुरी मध्ये १७ हजार ९ सय २२ घरधुरी किसान प्रभावित भएको कृषि विकास कार्यालयको तथ्याङक छ ।
सवै भन्दा वढी उत्पादन ह्रास आएका गाविसहरुमा दशेरा, रग्दा, भगवति रहेका छन् । दशेरा, रग्दा, भगवति गाविसमा ९५ प्रतिशत उत्पादनमा ह्रास आएको कृषि विकास कार्यालयको तथ्याङक छ । त्यसैगरी कोर्ताङ्ग र जगतिपुर गाविसमा ८५ प्रतिशत, डाडाँगाउँ गाविसमा ८० प्रतिसत उत्पादनमा ह्रास आएको छ भने, पजारु, खगेनकोट र लहँ गाविसमा ७५ प्रतिशत र दहँ, सुवानाउली, जुगाथापाचौर, थालारैकर गाविसमा ७० प्रतिसत उत्पादनमा ह्रास आएको कृषि विकास कार्यालयले जनाएको छ ।।
