काठमाडौं, २९ असोज । नेपाल टेलिकमले ७५ वटै जिल्लामा जीएसएम प्रविधिको थ्रीजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । डोल्पाको दुनै र हुम्लाको सिमीकोटमा समेत यो सेवा सञ्चालनमा आएपछि अब सबै जिल्लामा थ्रीजी सेवाको पहुँच पुगेको हो । कम्पनीले दुनैमा बुधबार र सिमीकोटमा बिहीबारदेखि यो सेवा सञ्चालनमा ल्याएसँगै ७५ बटै जिल्लामा सेवा पुगेको हो ।

b816978bc420037f5e21ed57e1fe7794टेलिकमले जीएसएम मोबाइलमा थ्रीजी सेवा २०६४ जेठ ३ गतेदेखि सुरु गरेको थियो । सुरुमा काठमाडौं उपत्यकाको चक्रपथभित्रका सीमित क्षेत्रमा मात्र सञ्चालनमा रहेको थ्रीजी सेवा हाल विस्तार भएर सबै जिल्लामा पुगेको हो ।

थ्रीजी सेवामार्फत उपभोक्तालाई भ्वाइस सेवाको अतिरिक्त उच्च गतिको डाटा डाउनलोड तथा अपलोड गर्ने सुविधा उपलब्ध छ । कम्पनीले दसैं, तिहार तथा छठको उपलक्ष्यमा जीएसएम तथा सीडीएमए दुवैमा सबैभन्दा सस्तो मूल्यमा डाटा प्याकेज उपलब्ध गराइरहेको छ ।

यो अवधिमा डाटा प्रयोगकर्ताले निःशुल्क रूपमा क्रमशः १० मिनेट भ्वाइस कल गर्न तथा १० वटा एसएमएस पठाउन र २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन पनि सक्छन् । यो अफर आगामी असोज २९ गतेसम्म र कात्तिक १२ देखि २१ गतेसम्म उपलब्ध गराइनेछ ।