afim-khetiरुकुम २१ असोज ।  रुकुममा बिगत चार बर्ष देखी प्रहरीकै मिलेमतोमा अफिम खेती हुदै आएको रहस्य खुलेको छ । कम लगानीमा धेरै आम्दानी हुने भन्दै रुकुमका ठूला व्यापारी र प्रहरीको मिलेमतोमा अफिमको खेती फैलिँदै गएको पाइएको छ । प्रहरीकै सुरक्षाम विभिन्न गाविसमा निर्वाध रुपमा गएको चार वर्ष यता अफिमको खेती मौलाउँदै गएको पाइएको हो ।

अफिम खेती नष्ट गर्न प्रहरीले सक्रियता बढाएको बताएता पनि झनै दोब्बर रुपमा उत्पादन भएको छ । एकातिर प्रहरीले अफिम नष्ट तथा बरामद गरेको प्रतिवेदन सार्वजनिक गरेको छ भने अर्कोतिर प्रहरीकै मिलेमतोमा अफिम खेती फस्टाएको पाइएको छ । अफिम फडानी गर्नुअघि ब्यापारीसँग प्रहरीले मोलमोलाई गर्ने गरेको रहस्य खुलेको छ ।

प्रहरीले एक सय विघामा लगाएको अफिम फँडानी गरेको रेकर्ड रुकुममा छ । यति धेरै मात्रामा अफिम नष्ट गर्ने प्रहरीको सफल अभियान रहेपनि अभियानलाई छेक्दै प्रहरीहरु नै ब्यापारीसँग मिल्ने गरेको तथ्य फेला परेपछि प्रहरीबाटै अनुसन्धान सुरु भएको हो ।

रुकुम आठविसकोटको मातहतमा रहेको गोतामकोट प्रहरी चौकी र बाफीकोट इलाका प्रहरी कार्यालय इन्चार्जलाइ घुस खाएको आरोप लागेपछि प्रहरीले अनुसन्धान गरेको हो । घुस खाएको कुरा चर्चामा आएपछि मध्यपश्चिम प्रहरी प्रमुख माधव नेपालको निर्देशनमा अञ्चल प्रहरी कार्यालय दाङका डिएसपी तुलबहादुर कार्कीको नेतृत्वमा छानविन समिति समेत गठन गरिएको छ ।

छानविन समितिको प्रारम्भिक प्रतिवेदनका आधारमा हालै घटनामा मुछिएका तत्कालिन असइ अमर गिरीलाई सेवाबाट हटाइएको डिआइजी माधव नेपालले जानकारी दिनु भयो । घटनामा १५ जना प्रहरीमाथि छानविन भैरहेको पनि प्रहरीले बताएको छ ।।