काठमाडौँ, २० असोज । आगामी कात्तिक महिनामा नेपाल भ्रमणमा आउनुहुने भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालमा रहँदा तीन महत्पुर्ण धार्मिक तथा पर्यटकीय स्थानको अवलोकन गर्नुहुने भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मुखर्जीले पोखरा, जनकपुर र लुम्बिनीको भ्रमण गर्ने गरी तयारी सुरु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा मुखर्जी आगामी कात्तिक १७ गते तीनदिने नेपाल भ्रमणमा आउन लाग्नुभएको छ । भ्रमणको मिति टुङ्गो लागेपछि दुवै देशका परराष्ट्र मन्त्रालय र दूतावासहरू आन्तरिक तयारीमा जुटेका छन् । मुखर्जीलाई काठमाडौँबाट जनकपुर, जनकपुरबाट फेरि काठमाडौँ, काठमाडौँबाट पोखरा, पोखराबाट लुम्बिनी र लुम्बिनीबाट काठमाडौँ ल्याइने गरी रुट मिलाइएको छ ।
भारतको राज्य व्यवस्था अनुसार राष्ट्रपति राज्यप्रमुख भए पनि कार्यकारी अधिकार भने सरकारप्रमुखका रूपमा रहेका प्रधानमन्त्रीसँग रहन्छ । आलङ्कारिक राष्ट्रपतिका रूपमा रहनुभएका मुखर्जीको भ्रमणका क्रममा दुई देशबीच कुनै सम्झौता वा सहमति भने नहुने परराष्ट्रका अधिकारीहरूले जानकारी दिएका छन् ।।





