govind-kcकाठमाडौँ, २० असोज ।  स्वास्थ्य शिक्षासँग सम्बन्धित विभिन्न माग राख्दै विगत १० दिनदेखि आमरण अनशनमा बस्नुभएका डा. गोविन्द केसीको अवस्था गम्भीर बन्दै गएको छ ।

चिकित्सकका अनुसार डा. केसीलाई अहिले अक्सिजन दिएर राखिएको छ । उहाँको मुटुको चालमा घटबढ भइरहेको छ । उपचारमा सहभागी डा. दिव्यासिंह शाहले मुटुको धड्कनमा गडबढी हुँदा मुटुमा जटिल समस्या आउनसक्ने बताउनुभयो । “डा. केसीलाई पछिल्लो समय रगतमा प्लेटलेसको मात्रामा कमी आउन थालेको छ । सुगरको मात्रा घटेर पिसाबमा क्रिटिनाइन देखिएको डा. शाहले बताउनुभयो । शाहका अनुसार शरीर कमजोर बन्नुका साथै रक्तचाप न्यून छ ।

सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन नगरेको भन्दै असोज १० गतेबाट डा. केसी नवौँपटक आमरण अनशनमा बस्नुभएको हो । सोलिडायरिटी फर गोविन्द केसी एलायन्सका संयोजक डा. जीवन क्षेत्रीले हालसम्म सरकारसँग औपचारिक वार्ता हुन नसकेको जानकारी दिनुभयो ।